चितवनमा बन्दको प्रभाव: तीन गाडीमा तोडफोड, ६ जना पक्राउ


चितवन ।

प्रतिनिधि सभाबाट आइतबार अनुमोदन भएको विवादित अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको सामान्य प्रभाव परेको छ ।

१२ बुँदे व्याख्यात्मक घोषणा मन्त्रीपरिषद्बाट स्वीकृत गरी एमसीसी सम्झौता संसद्‍बाट बहुमतले अनुमोदन गरेको हो । त्यसको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न छ दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आह्वान गरेका थिए ।

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा तीन वटा गाडीमा तोडफोड भएको छ । बन्धकर्ताहरूले भरतपुर ओरालोमा ना४ख ४३२५ नम्बरको भुस बोकेको ट्रक, रामपुरमा ना६ख ५५३४ नम्बरको इँटा बोकेको ट्रक र भरतपुर-७ बुद्धचोकमा प्रदेश ३-०१०२३ च ३६८४ नम्बरको भ्यानमाथि ढुंगा हानेर क्षति गरेको प्रहरीले जनाएको छ । सवारी साधनका सिसा फुटेका छन् ।

जबरजस्ती बन्द गराउँदै हिँड्ने छ जना बन्दकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । प्रहरीले लायन्सचोकबाट धुव्र खड्का, मदन केसी, सुरेन्द्र बस्नेत, कुमार विकलगायतलाई पक्राउ गरेको हो ।

पोखरा बसपार्कबाट होम बहादुर खड्का र किसान घलेलाई हातमा ढुंगा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । गाडी तोडफोड गर्ने बन्दकर्ताको भने पहिचान नभएको उनले बताए ।बन्दका कारण सोमबार लामो तथा छोटा दुरीका यात्रुबहाक र मालबहाक सवारी साधन छिटपुटबाहेक सञ्चालनमा आउन सकेनन् । पसल, विद्यालय र बैंक तथा वित्तीय संस्थाहरू बन्दको त्रासले खुल्न सकेनन् ।

बन्दकर्ताले नारायणगढ बजारमा प्रदर्शन गरेका थिए । ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ लेखिएको ब्यानरसहित बन्दकर्ताले नारायणगढको पुलचोकदेखि लायन्सचोकसम्म शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्ने राजनीतिक दलका प्रमुख नेताहरू विरुद्ध बन्दकर्ताले नाराबाजी गरेका थिए ।