पाल्पामा बन्दको प्रभाव: सवारीसाधन ठप्प,७ जना प्रदर्शनकारी पक्राउ


कविराज नेपाल, पाल्पा । 

पाल्पामा सात जना बन्द आह्वान कर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी र नेकपाका ७ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडेल, नेपाल कम्युनिस्ट पार्टीका पाल्पा सचिव भुवन जिसी,नेकपा क्रान्तिकारी माओवादी पाल्पाका सचिव लिला जिसी, युवा संगठन नेपालका बेदप्रसाद विश्वकर्मा, अखिल क्रान्तिकारीका संयोजक लंक राना र सुदिप विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा राखिएको छ । जर्वजस्ती सवारी  जव साधन चल्न अवरोध गरेकोमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 वन्दको प्रभाव

एमसीसी संसदबाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको  छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै आज नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण पाल्पामा  लामो तथा छोटो दूरीका गाडीहरू चलेका छैनन् । पाल्पामा सार्वजनिक सवारी नचलेको र सदरमुकामबाट बाहिरिने तथा भित्रिने सवारी पनि नचलेको ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला सदरमुकाम तानसेनका पसल, उद्योगधन्दा, व्यवसाय, शिक्षण संस्था लगायत बन्द छन् भने सदरमुकामका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् । कतिपय जिल्ला भित्र फाटफुट रूपमा निजी सवारी साधन भने गुडेका छन्  लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रुलाई  गन्तव्यमा पुग्न समस्या  परेको छ । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।