जनस्वास्थ्यलाई स्थानीय चुनावमा एजेन्डा बनाउनुपर्छ : अध्यक्ष तिमिल्सिना


न्युज अफ नेपाल, धनगढी ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा जनस्वास्थ्यका विषयलाई राजनीतिक एजेन्डा बनाउनुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आइतबार सम्पन्न कोभिड-१९ बिरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिताु विषयक एक दिने अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय निर्वाचनमा जनताका घरदैलोमा भोट माग्न जाँदा राजनीतिक दलले जनस्वास्थ्यका विषयमा सचेतना जगाउने र आफ्नो योजना पेश गर्न सुझाब दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोरोना महामारी अहिले नियन्त्रण उन्मुख रहेको र स्वास्थ्य अनुशासन तथा कोरोना विरुद्धको खोप लगाएर यसलाई पराजित गर्नुपर्ने बताए ।

महामारी र विनाशपछि विकासमा पुर्‍याउने विश्वको अनुभवबाट बुझ्न सकिन्छ, उनले भने, कोभिडले धेरै आफन्त गुमायौं।हामी पनि संक्रमित भएँ। त्यससँगै स्वास्थ्य क्षेत्रमा ठूलो सुधार र क्रान्ति पनि भएको छ। स्वास्थ्य पूर्वाधार निर्माण भएका छन्।यो सकारात्मक पक्ष हो।

अध्यक्ष तिमिल्सिनाले सांसदहरुले कानुन निर्माणसँगै देशको आर्थिक विकास, समृद्धी र सुशासनमा केन्द्रित हुँदै जनताको पक्षमा काम गर्नुपर्ने बताए। अहिले देशभर खोप अभियान चलिरहेकाले यसबारे समुदायलाई सचेत गराउन र सबैको पहुँचमा पुर्याउन लागौ, नागरिकको आवश्यकता र समस्या बुझ्ने र नजिकबाट चिन्ने जनप्रतिनिधि भएको भन्दै उनले भने सुदूरपश्चिम प्रदेशले सबैभन्दा पहिले शतप्रतिशन नागरिकलाई खोप लगाइसकेको घोषणा गरे ।

अन्तर्क्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभा सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला बडाल जोशी, मन्त्री तथा सांसदहरु, विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. पाण्डव, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.संगिता मिश्र लगायतको उपस्थिति रहेको थियो। अन्तर्क्रिया कार्यक्रममा कोभिड-१९ रोकथाम र खोपसम्बन्धी जोखिम सञ्चार र सामुदायिक सहभागिता सम्बन्धी स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहको प्रस्तुति रहेको थियो ।