सबैको पहुँचमा खोप पुर्‍याउन परराष्ट्रमन्त्रीको आह्वान


 

यसै विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको महामारी विश्वव्यापी साझा समस्या भएकाले खोपमा सबैको पहुँच पुर्‍याउन र त्यसलाई सस्तो बनाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ ।

संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्षले विश्वव्यापी खोपसम्बन्धमा आयोजना गरेको उच्चस्तरीय बहसलाई शनिबार सम्बोधन गर्दै मन्त्री खड्काले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम भएको बताउनुभयो ।

कोरोनाका विकासोन्मुख देशहरू आर्थिक चुनौतीको मारमा परेकाले अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो योजना र स्रोतको परिचालन अत्यावश्यक भएको मन्त्री खड्काले आफ्नो धारणा राख्ने क्रममा बताउनुभयो ।

उहाँले नेपालजस्तो विकासोन्मुख मुलुकलाई छिमेकी मित्रराष्ट्रदेखि विकास साझेदार र गाभी कोभ्याक्सको सहयोगमा समयमै कोरोनाविरुद्धको खोप लगाउने सुनौलो अवसर प्रदान गरेको भन्दै प्रगति विवरण प्रस्तुत गर्नुभयो । उहाँले २०७८ चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गर्न वातावरण बनाउने सहयोगीहरूप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभाको प्राथमिकताका विषयका रूपमा ‘कोभिड–१९ बाट मुक्ति’लाई केन्द्रमा राखेर महासभाका अध्यक्षले बहस आयोजना गर्नुभएको हो । उक्त कार्यक्रममा १ सय २० भन्दा बढी मुलुकका नेताहरूले भाग लिएका छन् ।