जस्प्रिता बनिन् हेटौंडाकी पहिलो मेयर



हेटौंडा, (नेस) ।

जस्प्रिता अधिकारी हेटौंडाकी पहिलो नमुना मेयर निर्वाचित हुनुभएको छ । नमुना निर्वाचनमा ६१ प्रतिशत मत प्राप्त गर्दै जस्प्रिता हेटौंडाकी पहिलो नमुना मेयरमा निर्वाचित हुनुभयो । जिल्ला युवा समितिको कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको आयोजनामा हेटौंडामा पहिलोपटक आयोजना भएको नमुना युवा नगरसभाको अभ्याससम्बन्धी ५ दिवसीय प्रशिक्षणमा उहाँ मेयर निर्वाचित हुनुभएको हो । मेयरमा विजयी जस्प्रीताले अर्का आकांक्षी तथा निकटतम् प्रतिद्वन्द्वी सिद्धान्त पुडासैनीलाई ८ मतले पराजित गर्नुभएको थियो ।

निर्वाचनमा मेयरका लागि खसेको कुल ३६ मतमध्ये अधिकारीले २२ मत प्राप्त गर्दा पुडासैनीले १४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत तथा जिल्ला युवा समिति अध्यक्ष शिवहरि दाहालले जानकारी दिनुभयो । मेयरमा अधिकारी र पुडासैनीसहित सम्राट सिलवाल गरी ३ जनाको उम्मेदवारी परे पनि सिलवालमाथि दाबीविरोध परेर उहाँको उम्मेदवारी खारेज भएको थियो ।

हेटौंडाको नमुना उपमेयरमा रञ्जनकुमार पौडेल (आरबी पौडेल) निर्वाचित हुनुभएको छ । नेपालको संविधानअनुसार कुनै राजनीतिक दलले नगरको मेयर उम्मेदवारमा महिला चयन गरे उपमेयरमा पुरुष र मेयरमा पुरुषलाई चयन गरे उपमेयरमा महिलालाई चयन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले त्यसको अभ्यास गर्दै उपमेयरमा पौडेल निर्विरोध निर्वाचित हुनुभएको हो ।

पौडेलसहित दीक्षा सुवेदी र स्वस्तिका बानियाँको उपमेयरमा उम्मेदवारी रहे पनि मेयरमा महिला निर्वाचित भएपछि उपमेयरमा पुरुषतर्फबाट पौडेल स्वतः निर्वाचित हुनुभएको दाहालले जानकारी दिनुभयो । निर्वाचित मेयर, उपमेयर तथा नगरसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । कार्यक्रममा सहभागी हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका ५० युवालाई प्रशिक्षकद्वय रमेशकुमार पौडेल र श्यामकाजी श्रेष्ठले युवाजीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, सूचनाको हकसम्बन्धी अवधारणाका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

नेपालमा युवा संसद्को अवधारणा र अभ्यास, युवा क्लब र युवा क्लब गठन प्रक्रिया, स्थानीय योजना निर्माणका ७ तह र बस्तीस्तरको योजना निर्माणमा युवाक्लबको भूमिका, नगरसभा सञ्चालनसम्बन्धी कार्यविधि तथा गाउँ/नगरसभामा पालना गर्नुपर्ने नियमका विषयमा पनि प्रशिक्षकहरुले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्