सेनाको रगतले बच्यो सुत्केरीको ज्यान



बैतडी, (नेस) ।

नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचेको छ । सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाले गरेको रक्तदानले बचेको हो । बच्चा जन्माउन नसकी जिल्ला अस्पताल बैतडीमा शल्यक्रिया गर्दा अत्यधिक रक्तश्राप भएर छटपटाइरहेकी उनको सेनाले गरेको रक्तदानले बचेको अस्पतालका सूचना अधिकारी हरीश पन्तले बताउनुभयो । सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले एक÷एक पिन्ट दिएको रगतले ती सुत्केरीको ज्यान बचेको हो ।

जिल्ला अस्पतालमा सुत्केरी व्यथा लागेर दुई दिनअघि भर्ना भएकी सरस्वतीले शल्यक्रियापछि बच्चा जन्माएकी छन् । ‘सरस्वतीले ब्लड गु्रप बी पोजेटिभ रहेको र ब्लड बैंक नहुँदा सेनाको गुल्ममा खबर गरिएको थियो’, सूचना अधिकारी पन्तले भन्नुभयो– ‘शल्यक्रियामार्फत बच्चा जन्माएकी सरस्वती शरीरमा रगतको कमी भई बेहोस् भएपछि सेनालाई गुहारेका थियौं, सेनाले दिएको रगत सुत्केरीको ज्यान जोगाउन सफल भयौं ।’

शल्यक्रियापछि भने उनलाई डडेल्धुरा रिफर गरिएको र अहिले आमाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको र शिशुको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले रगत आवश्यक परेको खबर गरेपछि तत्कालै रगत दान गरिएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले बताउनुभयो । अस्पतालले रगत आवश्यक परेमा हामीलाई सधैं खबर गर्ने गर्दछ, सेनाले दिएको रगतले धेरैको ज्यान जोगिएको छ ।’ –उहाँले भन्नुभयो । बैतडीमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगतको आवश्यकता पर्दा सेना र प्रहरीकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्