मन्दिर जाने रेलिङसहित सिँढी निर्माण सम्पन्न



लमजुङ ।

स्थानीय तहको जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि सबैको साझा भएर आफ्नो कार्यकाल सफल वनाएको बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभएको छ । बेंसीशहर नगरपालिका–५ नाल्मास्थित ऐतिहासिक लाङ्दीदेवी मन्दिर जाने रेलिङसहितको सिँढीमार्गको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जुनसुकै पार्टीबाट निर्वाचित भए पनि जनप्रतिनिधि सार्वजनिक हुने नगरप्रमुख अर्यालको भनाइ छ । नगरपालिकाले स्थानीयको आवश्यकता र मागअनुसार काम गरेको भन्दै नगरप्रमुख उहाँले लाङ्दीदेवी मन्दिर क्षेत्रमा आवश्यक संरचना निर्माणमा नगरपालिकाको नजर समयमै पुग्न नसकेको बताउनुभयो । धार्मिक एवं ऐतिहासिक रूपमा प्रख्यात रहेको उक्त क्षेत्रको विकासका लागि ढिलै भए पनि थालनी भएको काम स्थानीयको सक्रियतामा सफल भएको नगरप्रमुख अर्यालले बताउनुभयो ।

बेंसीशहर नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयको सक्रियातामा मन्दिरसम्म जाने रेलिङसहित पक्की सिँढी निर्माण गरिएको छ । सिँढी निर्माणका लागि नगरपालिकाले विनियोजन गरेको १० लाख बजेटबाट करिब तीन महिनाको अवधिमा निर्माणकार्य सम्पन्न भएको लाङदीदेवी रेलिङसहित सिँढीमार्ग निर्माण समितिका अध्यक्ष अमृत गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्