भ्रष्टाचार प्रमाणित भए कारबाही भोग्न तयार छु : विद्या

0
Shares

पोखरा ।

तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीमाथि लगाइएको भ्रष्टाचारको आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको उनकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य विद्या अधिकारीले बताउनुभएको छ । रवीन्द्र अधिकारी तेस्रो स्मृति दिवसको अवसरमा आयोजित रवीन्द्र अधिकारी र मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो बताउनुभएको हो ।

उक्त आरोप झूटो भएको भन्दै अधिकारीले प्रमाणित गरी तथ्य देखाउन चुनौतीसमेत दिनुभएको थियो । उहाँले तथ्यहीन आरोप लगाउँदै कुशल राजनीति गर्ने नेतामाथि कालो दाग लगाउने काम भएको सुनाउनुभयो । ‘रवीन्द्र अधिकारी भ्रष्टाचारमा मुछिएको कुरामा परिवार पनि आउँन सक्छ भन्ने जुन कुरा आएको छ र रवीन्द्र कस्ता व्यक्ति भन्ने सबैलाई थाहा छ’, उहाँले भन्नुभयो – ‘आरोप लगाउनेले प्रमाणित गरोस् । गल्ती गरे कारबाही भोग्न तयार छौँ । आरोप खण्डित भइसकेको छ । अब उत्तर दिनुभन्दा पनि आरोप निराधार हो भन्ने देखाउनुपर्ने भएको छ ।’

उक्त कुरामा आफूले भन्दा पनि सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको सुनाउनुभयो । पहिला पहिला समाजमा लगाइने आरोपको प्रचलन अहिले राजनीतिमा हुने गरेको र यसले राजनीतिलाई हेर्ने दृष्टिकोण गलत हुँदै गएको बताउनुभयो । उहाँले रवीन्द्र विरोध र नसकरात्मक भन्दा पनि सकारात्मक परिवर्तन सम्भव छ भन्ने ठान्नुहुने व्यक्ति रहेको बताउनुभयो । हरेक क्षेत्रले सम्झिने व्यक्तिको रूपमा रहेका रवीन्द्रको भौतिक शरीर नभए पनि विचार जीवन्त रहेको र त्यसले सबैलाई उत्प्रेरणा मिल्ने उनले बताउनुभयो ।

३ वर्षअघि २०७५ साल पुषमा नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा ‘वाइडबडी’ जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपियाँ भ्रष्टचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेर भ्रष्टचारमा संलग्न देखिएका परदाधिकारीलाई कारबाहीको सिफारिस गरेको गरेको थियो । उपसमितिले अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई दोषी ठहरसमेत गरेको थियो । उनीसहित दुई पूर्व पर्यटनमन्त्री जीतेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

उपसमितिको प्रतिवेदनअनुसार अधिकारी पर्यटनमन्त्री भएपछि दुई किस्ताको रकम भुक्तानी पठाइएको थियो । अधिकारीले महालेखापरीक्षकको प्रतिवेदनमा खरिद प्रक्रिया कानुनसम्मत नदेखिएको उल्लेख हुँदाहुँदै छानबिन नगरी अन्तिम किस्ता रकम भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । भुक्तानीबारे छानबिन गर्न खरिद प्रक्रियामा संलग्नहरूकै समिति बनाएको पनि उपसमितिले औंल्याएको छ । उपसमितिले सिंगो जहाज खरिद प्रक्रिया नै अनियमितताका लागि रचिएको ठहर गरिएको थियो ।

रवीन्द्र अधिकारीमाथि आरोप लागेको ३ महिनापश्चात् फागुन १५ गते एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

स्व. अधिकारीको स्मृतिमा प्रतिष्ठानले पोखरामा ३ दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागिहरूले रवीन्द्र लोकप्रिय र विकास प्रेमी नेता रहेको बताएका थिए । उनीहरूले कास्कीले अब रवीन्द्रजस्तो नेता नपाउने बताएका थिए । साथै प्रतिष्ठानले वैशाखमा रवीन्द्र स्मृति पत्रकारिता पुरस्कारको समेत स्थापना गर्ने भएको छ ।