ओपीडी पुनः शुरू गर्दै नर्भिक



काठमाडौं, (नेस) ।

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियान यो सातादेखि पुनः शुरू हुने भएको छ । नर्भिक अस्पतालले कोभिडको तेस्रो लहर शुरू हुनुअघिदेखि प्रत्येक शनिबार विभिन्न विशेषज्ञ चिकित्सकहरूबाट प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको थियो ।

सो अभियान कोभिडको तेस्रो लहर शुरू भएपछि केही साता बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । कोभिडको तेस्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिबारको फ्री ओपीडी सेवालाई पुनः चालु गर्ने अस्पतालले निर्णय गरेको हो । निर्णयसँगै शनिबार नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गरेको थियो । प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले सेवा दिएको थियो ।

केही साता रोकिएर पुनः चालु भएको निःशुल्क ओपीडी सेवा सञ्चालन हुने समयसमेत परिवर्तन भएको छ । पहिला बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा सञ्चालन हुने गरेकोमा अबदेखि भने बिहान ९:३० बजेदेखि ११:३० बजेसम्म (२ घण्टा) संचालन हुनेछ ।

अस्पतालका अनुसार मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अन्डकोष र हर्नियाको समस्या भएका बिरामीहरूले निःशुल्क ओपीडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्