नेपालआज डटकमसहित दुई अनलाइन प्रेस काउन्सिलको कालो सूचीमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्य, तथ्य र प्रमाणविनानाका आधारहीन समाचार सम्प्रेषण गरेर भ्रम फैलाउँदै आएको नेपालआज डट कमलाई प्र्रेस काउन्सील नेपालले कालो सूचीमा राखेको छ । सञ्चारमाध्यमको नियामक निकाय काउन्सीलले उक्त अनलाइनलाई कालो सूचीमा राख्दै थप कारवाहीको प्रक्रिया अघि बढाएको जनाएको छ ।

व्यक्तिको चरित्रहत्या गर्ने किसिमका एकतर्फी समाचार लेख्दै आएको उक्त अनलाइनको गतिविधि लामो समयदेखि काउन्सीलको टाउको दुखाइ बन्दै गएको थियो । काउन्सीलको आजको बैठकले उक्त मिडियालाई उपलब्ध गराइने विज्ञापन,प्रेस पास तथा अन्य सेवा सुविधा उपलब्ध नगराउन पत्रकार आचारसंहिता–२०७३ बमोजिम सिफारिस गर्ने निर्णय भएको हो ।

समाचार लेखनको सामान्य नियम र मर्यादा पनि पालना नगरी व्यक्तिगत गाली गलौज र चरित्रहत्या गर्ने किसिमका समाचार लेखेका कारण उक्त अनलाइनलाई कालो सूचीमा राखिएको काउन्सीलले जनाएको छ । उक्त अनलाइनले केही समययता विभिन्न व्यक्ति र संस्थामाथि अनर्गल प्रचारप्रसार गर्ने किसिमको भ्रामक समाचार सम्प्रेषण गर्दै आइरहेको थियो । नेपालमा सञ्चालित पत्रपत्रिका तथा पछिल्लो समय अनलाइन सञ्चारमाध्यमलाई पनि नियमन गर्ने निकाय काउन्सीलमा उक्त अनलाइनका सञ्चालक माधव गुरागाईं विरुद्ध आधा दर्जन उजुरी थुप्रिएका थिए ।

आधा दर्जन उजुरी थुप्रिदाँसमेत काउन्सीलले उक्त अनलाइनमाथि कुनै पनि किसिमको कारवाही प्रक्रिया अघि बढाउन सकेको थिएन । सामान्यतया कसैले समाचारको आपत्ति जनाइहालेको खण्डमा मिडियाले खण्डन छाप्नेमै कारवाही सिमित रहँदै आएको थियो । अब भने उक्त अनलाइन विरुद्ध उजुरीको चाङ बढ्दै गएकाले काउन्सीलले बाध्य भएर कालो सूचीमा राखेको हो ।

अनलाइन विरुद्ध काउन्सीलमा ६ वटा उजुरी परेका थिए । सोही उजुरी र काउन्सीलको स्वअनुगमनबाट देखिएका आचारसंहिता उल्लंघनका आधारमा कालोसूचीमा राखिएको हो । उक्त अनलाइनलाई काउन्सीलले सम्बन्धित पक्षको भनाइलाई सम्बोधन गरी खण्डन प्रकाशन गर्न पटक पटक निर्देशन दिइएपनि अटेर गर्दै आइरहेको थियो ।

अनलाइनले कतिपय प्रकाशित खण्डन तोडमोड गरेर पुनः समाचार नै बनाइ प्रकाशन गर्ने, ध्यानाकर्षण गराउँदा पनि कुनै सुधार नआइ आचारसंहिताविपरित समाग्री सम्प्रेषण गर्न छोडेको थिएन । नेपालआजले सम्प्रेषण गरिएका समाचारमा पनि गलत र अपुष्ट स्रोतको हवला दिँदै सिलसिलेवर रूपमा प्रायोजित किसिमले एक पक्षीय सामाग्री सम्प्रेषण गर्ने गरेको काउन्सीलले जनाएको छ ।

सो अनलाइनमा लेखिएका समाचार आफैंमा ‘ब्लाकमेलिङ’ गर्ने किसिमको भएको काउन्सीलले प्रष्ट पारेको छ । ‘उक्त अनलाइनले गलत अपुष्ट स्रोतको हवला दिँदै सिलसिलेवर रुपमा प्रायोजित एवम् एकपक्षीय सामाग्रीहरु सम्प्रेषण गर्ने गरेको, व्यक्तिगत चरित्रहत्या हुने किसिमबाट पत्रकारिताको न्युनतम मूल्य, मान्यता, मर्यादा र सीमाभन्दा बाहिर गई पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको र ब्ल्याकमेलिङ गरी आफ्ना माग पूरा नभए बिनाआधार चरित्रहत्या गर्ने गरेको भनी मौखिक एवम् लिखित गुनासाहरुसमेत आएको थियो,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसअघिका उजुरीका सम्बन्धमा उक्त अनलाइनका सम्पादकमा काउन्सीलमा छलफलका लागि बोलाउँदा पनि अटेर गरी उपस्थित भएका थिए । उक्त छलफलमा भएका कुराकानीसमेत अनाधिकृत रुपमा रेकर्ड गरी हुँदै नभएको विषयमा समाचार सम्प्रेषण गरेका थिए ।

अनलाइनमा प्रसारित समाचार, सञ्चालक माधव गुरागाईंले पठाएको खण्डनपत्रबारे काउन्सीलले कार्यदल नै बनाएर अध्ययन गरेको थियो । सोही कार्यदलको निष्कर्षले अनलाइनलाई कालोसूचीमा राख्न सुझाव दिएको हो । त्यस्तै, काउन्सीलले नेपालआजसँगै सगरमाथाखबर डटकमलाई पनि कालोसूचीमा राखेको छ ।

काउन्सीलले पटक पटक दिएको निर्देशनलाई अवज्ञा गरेकाले उक्त अनलाइनलाई पनि कालोसूचीमा राखिएको विज्ञप्तीमा उल्लेख छ । जारी विज्ञप्ती अनुसार यो आर्थिक वर्षको फागुन १२ सम्म काउन्सीलमा विभिन्न मिडियाविरुद्ध १३२ वटा उजुरी र आठवटा जनगुनासो दर्ता भएका छन् । त्यसमा हालसम्म ८१ उजुरी र चार जनगणना फछ्र्यौट भएका छन् ।

त्यस्तै, यो अवधीमा भएका एक सय ७१ स्वअनुगान सामाग्रीमध्ये १ सय ४९ वटा फछ्र्यौंट भएका छन् । काउन्सीलका अनुसार ४० उजुरी र ६८ स्वअनुगमनका आधारमा १०८ वटा दर्ता÷सूचीकरण नभएका वेब पाोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था भएको छ ।

सञ्चारमाध्यमको अनुगमन, मूल्यांकन गरी मर्यादति तथा जिम्मेवार बनाउनु काउन्सीलको कर्तव्य हो । तर, यसरी मर्यादा बाहिर गएर सामाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमको सूची लामो छ । नेपाल आज अनलाइनले नेपालवाचलाई कुनै तथ्य र प्रमाण नै पाकिस्तानी दलालको आरोप लगाउँदै आएको थियो ।

त्यसयता नेपालवाचमा सम्पादक कला अनुरागीको बहिर्गमनसँगै सिलसिलेबर ढंगले व्यक्तिगत चरित्रहत्या गर्ने किसिमको समाचार सम्प्रेषण हुँदै आएको थियो । नेपालवाचमात्रै नभएर उक्त अनलाइनले कान्तिपुरका सप्तरीस्थित जिल्ला रिपोर्टर अवदेश झाका बारेमा पनि अनर्गल प्रचारबाजी गरेका थिए ।

झाका विरुद्ध तथ्यहीन समाचार सम्प्रेषण गर्न नपुगेर उक्त अनलाइनले झाकी श्रीमतिलाई समेत निशाना बनाएका थिए । त्यस्तै, पछिल्लो समय सहकारी बैंकका प्रमुक कार्यकारी अधिकृत(सिइओ) बद्री गुरागाईंबारे उक्त अनलाइनले नियोजित ढंगमा सिरिजमै समाचार सम्प्रेषण गरिरहेको छ । यीसहित उक्त अनलाइनले सम्प्रेषण गर्ने कुनै पनि समाचार पत्रकारिताको सामान्य नियम र मर्यादाभित्र पनि पर्दैनन् । यी विषयबारे काउन्सील आफैंले स्पष्ट पारिसकेको छ ।

कालो सूचीमा परेपछि के हुन्छ ?

कुनै पनि सञ्चारमाध्यम काउन्सीलको कालो सूचीमा पर्नु हदैसम्मको नैतिक कारवाही भएको मानिन्छ । कालो सूचीमा राखेको खण्डमा उक्त संस्थाले सरकारी सेवा/सुविधा पाइरहेको छ भने त्यो पनि वञ्चित हुने अवस्था आउँछ ।

कालोसूचीमा परेपछि सूचना विभागबाट जारी हुने प्रेस पास पनि रद्द हुनेछ । काउन्सीलका प्रवक्ता दीपक खनालका अनुसार यो आर्थिक वर्षमा काउन्सीलले दुईवटा अनलाइन मिडियालाई कालो सूचीमा राखिसकेको छ । खनालका अनुसार संस्थाविरूद्ध उजुरी परेपछि पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने र प्रतिक्रिया नदिएको अवस्थामा कालो सूचीमा राखिन्छ। काउन्सीलको कार्यविधि अनुसार कुनै पनि संस्थालाई राखिएको कालो सूचीको अवधी एक वर्ष हुने खनालले जानकारी गराए ।