वडाध्यक्ष ‘अति गरिब’को सूचीमा !



डोटी, (नेस) ।

सुन्दा पनि अचम्म लाग्न सक्छ डोटीमा वर्तमान वडाध्यक्ष नै गरिबको सूचीमा समेटिएका छन् भन्दा । तर, यो कुरा साँचो हो । यहाँको बोगटान फुड्सिल गाउँपालिका–१ का वडाध्यक्ष डम्मरबहादुर घर्ती मगरको नाम ‘अति गरिब’ को सूचीमा समेटिएको भेटिएको छ ।

परिवार पहिचान सर्वेक्षणमा आधारित गरिब घर–परिवारको सूची संकलन गर्दा वडा नं १ का अध्यक्षसमेत रहनुभएका घर्ती अति गरिबको सूचीमा पार्नुभएको हो । तर, उहाँको आर्थिकस्तर तथा अवस्था भने त्यस्तो छैन । उहाँले चुनाव जितेर वडाध्यक्ष भएपछि मात्रै वडा कार्यालय नजिकै दुईतले पक्की घर बनाएको र घरमा आयस्रोत पनि राम्रै भएको स्थानीयवासी बताउँछन् ।

वडाध्यक्षलाई गरिबको सूचीमा समेटिएका विषयमा अहिले जिल्लामा निकै चर्चा–परिचर्चा शुरु भएको छ । आखिर किन र के कारणले उहाँलाई गरिबको सूचीमा राखियो यो विषयमा स्थानीय नागरिकले चासो दिइरहेका बोगटान फुड्सिल गाउँपालिका–५ का हर्कबहादुर साउले बताउनुभयो । ‘मनपरीरूपमा कसैलाई पनि गरिबको सूचीमा राख्ने यो कस्तो नियम हो’, उहाँले भन्नुभयो– ‘वास्तविक गरिबलाई केही छैन, हुने खाने र नेतालाई गरिबको सूचीमा राख्ने, यस्तो पनि हुन्छ ।’

उता, गरिबको सूचीमा रहेका वडाध्यक्ष घर्ती मगरले यसबारे आफूलाई कुनै जानकारी नभएको र सूची संसोधन गरिने बताउनुभयो । ‘मेरो नाम कसले र किन गरिबको सूचीमा राख्यो मलाई जानकारी छैन’, उहाँ भन्नुहुन्छ– संकलकले त्रुटि गरेको होला, म गरिबको सूचीबाट नाम हटाउँछु ।’ उहाँ माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्