अज्ञात समूहद्वारा गाउँपालिको कार्यालयमा तोडफोड 

लघुवित्तको नगद र मन्दिरबाट भेटीसमेत चोरी



फागुन ।

सल्यानको कालीमाटी गाउँपालिका तोडफोड भएको छ । बिहीबार राति अज्ञात समूह द्वारा गाउँपालिकासँगै ३ नम्बर वडा कार्यालय, वित्तिय संस्था, पसल र स्थानीय मन्दिरमा एकै पटक चोरी तथा तोडफोड भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका कार्यालयको प्रशासकीय भवनको सम्पूर्ण ढोकाका ताल्चा तोडफोड गरी प्रमुख प्रशासकीय कार्यकक्ष, अध्यक्ष, उपाध्यक्षको कार्यकक्षका कुर्सी तोडफोड सँगै विभिन्न शाखाहरूमा तोडफोड गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर केसीले बताउनु भएको छ  ।

यस्तै कार्यालयमा जडान गरिएको सिसी टिभी फुटाइएको छ भने कम्प्युटर डेस्कटप चोरी भएका छन् । कार्यालय भित्र  के कति क्षति भयो यकिन हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै कालीमाटी गाउँपालिका वडा नं.३ को वडा कार्यालय, कालीमाटीमा रहेको जाल्पा सामुदायिक लघुवित्त संस्था , पुतलि बजारमा रहेको स्थानीयका पसल  र गंगामाला मन्दिरमा समेत तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

अज्ञात समुहले जाल्पा सामुदायिक लघुवित्त संस्थाको ३ लाख नगद चोरी गरेको छ भने, मन्दिरको भेटीसमेत चोरेको छ ।  घटना स्थललाई अहिले प्रहरीले सुरक्षित राखेर अनुसन्धान अगाडि बढाएको जिल्ला पहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताउनु भएको छ  ।

प्रतिक्रिया दिनुहोस्