सत्ता गठबन्धन धरापमा



काठमाडौं, (नेस) ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौताको विषयले सत्ता गठबन्धन धरापमा परेको छ । एमसीसी बारेमा सत्ता घटक दलहरू एकमत हुन नसक्दा बिहीबारको संसद् बैठकसमेत स्थगित भएको छ । गत आइतबार एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल भएको थियो ।

कांग्रेस महामन्त्री गगन थापाले एमसीसी पारित गर्ने कुरा नमिलेपछि सत्ता गठबन्धन धरापमा परेको बताउनुभएको हो । राष्ट्रिय राजनीतिमा एमसीसीको विषय धेरै नै गिजोलिएपछि बिहीबार दिनभर प्रधानमन्त्री शेरवहादुर देउवालगायत काग्रेसका शीर्ष नेताहरू अन्य दलहरूसँग संवादमा व्यस्त रहे । प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सो पार्टीको शीर्ष नेताहरूसँगको छलफलपछि कांग्रेस महामन्त्री थापाले भन्नुभयो– ‘ओली नेतृत्व सरकारले संसद्मा दर्ता गरेको एमसीसी सम्झौता अनुमोदनका लागि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो ।’

‘एमसीसी सदनमा तपाईंले दर्ता गरेको विषय हो । हामी प्रतिपक्षमा हुँदा पनि तपाईंलाई सहयोग गरेका थियौं । तपार्इंबाट पनि हामी त्यही अपेक्षा गर्छौं’, प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीलाई भनेको भनाइ उद्धृत गर्दै थापाले भन्नुभयो । एमसीसीको विषयमा दलहरूवीच चर्को मतभेद देखिएसँगै कूटनीतिज्ञहरूसमेतको चासो बढ्न थालेको छ । बिहीबार चिनियाँ नेताहरूले ओलीका साथै माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

एमसीसी पारित गर्नैपर्ने अडानमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार एमाले अध्यक्ष ओलीसँग मात्र हैन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न दलका शीर्ष नेताहरूसँग छलफल गर्नुभएको थियो । साँझ संघीय समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छलफल गर्नुभएको थियो ।

२०६८ सालमा तत्कालीन नेकपा माओवादीका नेता बाबुराम भट्टराई नेतृत्वको गठबन्धन सरकारदेखि शुरू भएको एमसीसी सम्झौता प्रक्रियामा नेपालका सबैजसो दलहरू र नेतृत्व प्रत्यक्ष रूपमा सहभागी भएका छन् । एमसीसीको विषयमा क्षणिक लोकप्रियतामा रमाउने कि दीर्घकालीन लोकहितको बारेमा निक्र्यौल गर्ने ? भन्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोधमा युवाहरू सडकमा आउनुमा युवाहरूको दोष नभई नेताहरूको द्वैध चरित्रका कारण भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्