चिटिक्क बन्दै नारायणहिटी संग्रहालय



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले नारायणहिटी दरबार संग्रहालयलाई चिटिक्क पार्न निर्देशन दिएपछि त्यहाँका कर्मचारीले रङ रोगनदेखि चुहिएको मर्मत, लाइटिङ सिस्टम र बगैंचा सफाइको काम शुरू गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि समितिको जिम्मेवारी पाएका मन्त्रालयका सहसचिव डा. सुरेशसुरस श्रेष्ठले नारायणहिटी दरबार संग्रहालयमा रोकिएका सबै काम शुरू भएको बताउनुभयो ।

बतास समूहलाई रेस्टुरेन्ट भाडामा दिँदा विवादमा मुछिएका तत्कालीन कार्यकारी निर्देशक दाहालको राजीनामापछि सरकारले अर्को व्यवस्था नभएसम्मको लागि जिम्मेवारी लिएका सहसचिव डा. श्रेष्ठले संग्रहालयलाई पूर्णरूपमा सफाइ गरी पर्यटकको आगमनलाई वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभयो ।

संग्रहालयका सूचना अधिकारी बुद्धिबहादुर गुरुङले संग्रहालयभित्र खोलिएका ३१ वटा कक्षको पूर्ण सरसफाइ, मंगल सदन, त्रिभुवन सदन र राजा वीरेन्द्रको निजी घर श्रीसदनको मर्मतलगायतका काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नारायणहिटी दरबारको मुख्य भवनको चिपिङ गरी ढलान गर्ने काम सम्पन्न भएको छ । सबैतिर लाइटिङ जडान शुरू भएको छ । त्रिभुवन सदनसँगै रहेको तत्कालीन राजाका एडीसी भवन निर्माण भइरहेको छ ।’

संग्रहालयले मंगल सदनमा रङरोगन शुरू गरेको, पूर्वराजाले प्रयोग गरिरहेका हेलिकोप्टर र प्लेनलाई प्रदर्शनीमा राख्न स्ट्यान्ड निर्माण गरिरहेको जनाएको छ । अघिल्लो कार्यकारी निर्देशकले उल्लेख्य काम गरेको दाबी गरे तापनि भवन चुहिएको विषयमा खासै ध्यान नदिएपछि संग्रहालयमा बस्ने कर्मचारीले नै विरोध जनाएका थिए ।

‘चालु भइरहेकाबाहेक करिब २ करोड रुपियाँमा सिंगारपटार गर्ने काम शुरू गरेका छौं’ –सूचना अधिकारी गुरुङले भन्नुभयो । उहाँका अनुसार लाइब्रेरी तयार गर्न शुरू गरिएको छ । अवलोकनका लागि खुला गर्न बाँकी विभिन्न सदनका बारेमा अध्ययन शुरू गरेका छौं । सिनेमा हल खुला गर्ने विषयमा समेत छलफल शुरू गरिएको छ ।

त्यसैगरी राजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीनवटा सवारी साधन समेत प्रदर्शनीमा राख्ने तयारी भइरहेको सहसचिव डा. श्रेष्ठले जानकारी दिनुभयो । ‘ऐतिहासिक सवारी साधनलाई खुला गर्न योजना तयार गरिरहेका छौं’ –उहाँले भन्नुभयो । यसअघि पूर्वराजा स्वर्गीय वीरेन्द्र, दीपेन्द्र, पूर्व अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनले बच्चा उमेरमा प्रयोग गरेका सबै सवारीसाधन प्रदर्शनीमा राखिसकेको छ ।

‘सोही स्थानमा नेपाली सेनाले प्रयोग गरिरहेको अन्य ग्यारेज खाली गरी थप तीनवटा सवारीसाधन प्रदर्शनीमा राख्ने तयारी थालेको सूचना अधिकारी गुरुङले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्