आजबाट फोहोर उठ्यो,अहिलेसम्म २ सय ट्रीप फोहोर सिसडोलमा


ईश्वरराज ढकाल, काठमाडौं ।

स्थानीय अवरोधको कारण रोकिएको फोहोर हिजो बिहीबारबाट सूचारु भएको छ । सडक विभाग र काठमाडौं महानगरपालिकाको रोहबरमा स्थानीयको तर्फबाट तारकेश्वर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मनोहरी तिवारी र शैलुङ कन्ट्रक्सनको अधिकारीबीच सहमति भएपछि सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिसर्जन भएको हो ।

सहमति अनुसार चैत मशान्तभित्र मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे गर्नुपर्ने र बाकी क्षेत्रसमेत नियमित कालोपत्रे गर्ने सहमति भएको हो । बुधबार राती सहमति भएपछि हिलो बिहीबारबाट फोहोर उठ्न थालेको हो ।कामपा सिसडोल ल्याण्डफिल साइट इन्चार्ज रविन प्यासीका अनुसार बिहिबार बिहान ४ बजेबाट फोहोर व्यवस्थापन शुरु भएको हो । उहाका अनुसार बिहीबार करिब २ सय ५० टन फोहोर ल्याण्डफिल साइटमा खसेको छ ।

कामपाको करिब १ सय ३५ र बाकी निजी र विभिन्न स्थानीय तहको फोहोर ल्याण्डफिलमा खसेका थियो । सारदा अधिकारीको स्वमित्वमा रहेको शैलुङ कन्ट्रक्सनले ७ वर्षदेखि ठेक्का लिएको पासाङल्हाम्यु सडकखण्डमा स्थानीयले पटक पटक आन्दोलन गरी बाटो बनाउने सहमति गर्दासमेत वेवास्ता गरेपछि वडाकै नेतृत्वमा बाटो अवरोध गरिएको थियो ।चैत मशान्तसम्म बाटो नबनाए पुन अन्तिम चरणमो आन्दोलनमा उत्रने स्थानीयको चेतावनी छ । ठेकेदार कम्प्नीले हिजैबाट लगातार काम गरी चैत मशान्तसम्ममा सम्पन्न गर्ने जनाएको छ । १२ दिनदेखि फोहोर बिसर्जन गर्न नसक्दा राजधानी लगायत उपत्यका र आसपासका १८ स्थानीय निकायमा दुर्गन्ध फैलन थालेको थियो । फोहोर बढुदै गएपछि कामपाले केहीदिन घरबाट फोहोर नलिकाल्न अपिल गरेको थियो ।

हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने ६ किलोमिटर बाटो मर्मतको काम समयमा नै सम्पन्न नगरेको जनाउँदै पासाङल्हामु राजमार्गका स्थानीयले गरेको अवरोधका कारण ती स्थानीय तहको फोहोर उठ्न नसकेको हो ।कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले बिहीबारबाट सुचारु रुपमा फोहोर बिसर्जन हुन थालेको बताउनुभयो । स्थानीयको माग सम्बोधन गर्न कामपाले लगातार ठेकेदार कम्प्नीलाई दबाब दिइरहने उहाको भनाई थियो । उहाका अनुसार राजधानीको सडक गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न एकसाता लाग्ने बताउनुभयो । भन्नुभयो–हामी लगातार काम गर्दापनि ५ देखि ७ दिनसम्म लाग्नसक्छ ।