नेपाली टिमले अस्ट्रेलियाको टिकट कटाउन सकेन



काठमाडौं ।

नेपाली क्रिकेट टिमले अस्ट्रेलियाको टिकट कटाउन सकेन । मंगलबार आईसीसी टी–२० विश्वकप छनोट ‘ए’ अन्तर्गत सेमिफाइनलमा हारेपछि नेपालले अस्ट्रेलियाको यात्रा गर्न वञ्चित भएको हो । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा भएको खेलमा यूएईसँग नेपाल ६८ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको यूएईले १ सय ७६ रनको लक्ष्य दिएको जवाफमा नेपाली टिम १८.४ ओभरमा १ सय ७ रन बनाएर अलआउट भयो ।

नेपालको लागि दोस्रो पटक टी–२० विश्वकप खेल्न प्रतियोगिताको फाइनलमा पुग्न आवश्यक थियो । अस्ट्रेलियाको टिकट काट्न योजनामा रहेको नेपालको लागि यूएई तगारो बनिदियो । नेपालले २०१४ मा बंगलादेशमा आयोजित टी २० विश्वकपमा खेल्ने अवसर मिलेको थियो । यो नेपालको विश्वकप सहभागिता पहिलोपटक थियो ।

यसपटक नेपालको विश्वकप खेल्ने समभावना धेरै थियो । समूह चरणमा नेपालले तीनै खेल जितेको थियो भने यूएईले दुई जित र एक हार व्यहोरेको थियो । तर, यूएईको शसक्त ब्याटिङ, सानदार बलिङ र फिल्डिङ सामु नेपालले केही गर्न सकेन । खेलमा ब्याटिङ र बलिङ दुवैमा नेपाल शुरूदेखि अन्त्यसम्म दबाबमै रहेको थियो ।

नेपालको लागि यूएईका दुई ब्याटर मुहम्मद वसिम र भ्रित्या अर्विन्द नै सबैभन्दा धेरै बाधक बने । उनीहरूलाई नेपाली बलरले खुलेर खेल्नु दिनु नै नेपालको लागि विश्वकपको ढोका बन्द भएको थियो । उनीहरूले नेपाली बलरविरूद्ध ९ चौका र ८ छक्का प्रहार गरेका थिए । नेपालको हातमा उनीहरूको विकेट त आयो तर, त्यतिबेलासम्म निकै ढिलो भइसकेको थियो । अर्विन्दले २३ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ४६ रन बनाए । उनलाई नेपाली कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका थिए । अर्विन्द र वसिमले दोस्रो विकेटका लागि ४० बलमै ६६ रनको साझेदारी गरेका थिए ।

आक्रमक बनेका अर्विन्द आउट भए पनि नेपाललाई केही पनि राहत भएन । वसिमले नेपाली बलरलाई चर्को दबाबमा राखे । ७० रन बनाएर आउट भएका उनले टिमको स्कोर १ सय ४० मा पुर्याएका थिए । ४८ बलको सामना गरेका उनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । उनको विकेट अविनाश बोहरालाई हासिल भएको थियो । नेपाली बलिङमा अविनाश र जितेन्द्र मुखियाले ३/३ विकेट लिएका थिए ।

सुस्त ब्याटिङ
नेपालको तर्फबाट दीपेन्द्रसिंह ऐरी र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले मात्रै यूएईका बलरलाई चुनौती दिएका थिए । त्यसो त उनीहरूले क्रिजमा रहे पनि जितको लागि आवश्यक आक्रमक ब्याटिङ गर्न भने सकेनन् । ५० रनका लागि ४ विकेट गुमेपछि दीपेन्द्र र ज्ञानेन्द्रले पाँचौं विकेटका लागि ३३ रन साझेदारी गरे । तर, उनीहरू १३ ओभरको चौथो र पाँचौं बलमा रजाको बलमा आउट भएपछि नेपालको जितको बचेखुचेको सम्भावना समाप्त भएको थियो ।

रजाको तेस्रो बलमा ज्ञानेन्द्र मल्लले छक्का प्रहार गर्दै आक्रमक हुन लागेको संकेत गरे, तर अर्को बलमा उनी त्यस्तै ठूलो प्रहारमा क्याचआउट भएका थिए । उनले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन मात्रै जोडेका थिए । अर्को बलमा दीपेन्द्र एलबीडब्ल्यूको सिकार हुँदै पभेलियन फर्के । दीपेन्द्रको विकेट पतन हुनु नेपाललाई ठूलो झट्का थियो । उनले ३८ बलमा ३ चौका मात्रै प्रहार गर्दै ३८ रनको योगदान दिएका थिए ।

यसअघि, ओपनर आशिफ शेख र लोकेश बम लगातार बलमा आउट भएर नेपाललाई शुरूवातमै ब्याकफुटमा पुर्याएको थियो । दुवै जना दोस्रो ओभरमा सिद्दिकीको शिकार भएका थिए भने दुवै जना शून्यमै आउट भएका थिए । अर्का ओपनर कुशल भुर्तेल पनि स्कोर १४ हुँदा आउट भए । प्रतियोगितामा फिलिपिन्सविरूद्ध शतक प्रहार गरेका उनले यसपटक ७ रन मात्रै बनाएका थिए । यसपछि, दीपेन्द्र र आरिफ शेखले ३६ रनको साझेदारी गरी ७.१ ओभरमै ५० रनमा पुर्याए । तर, आरिफ ११ रन जोडेर आरिफ मुस्तफाको बलमा आउट भएका थिए ।

यूएई र आयरल्यान्ड विश्वकपमा
प्रतियोगिताअन्तर्गत् बिहीबार हुने फाइनल खेलमा यूएईको सामना आयरल्यान्डविरूद्ध हुने भएको छ । यसका साथै आयरल्यान्ड र यूएई आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा सामेल हुन पाएका छन् । आयरल्यान्डले मंगलबार नै भएको दोस्रो सेमिफाइनल खेलमा ओमानलाई ५६ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्