प्रहरीको फाइनल भेट रोयलसँग



काठमाडौं ।

नेपाल प्रहरी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगमा उपविजेता बनेको प्रहरीले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने छ । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलामा प्रहरी रोयलसंग मात्र पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रहरीले रूपन्देहीलाई ५०–३३ ले हरायो । प्रहरीकी अनुषा मल्लले १५ स्कोर गरिन् । रूपन्देहीकी दीपिका गुरूङले सर्वाधिक २२ अंक जोडे पनि टिमलाई जिताउन सकिनन् ।

पहिलो क्वार्टरमा १७–९ को अग्रता बनाएको प्रहरी दोश्रोमा ६–७ को झिनो अन्तरले पछि पर्यो । बाँकी दुई क्वार्टरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले १५–८ र १२–८ को प्रदर्शन गर्यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरूषमा टाइम्स र गोल्डेनगेटले सेमिफाइनल यात्रा तय गरे । टाइम्सले कास्कीलाई ११३–६१ ले हरायो । टाइम्सका मविन्द्र क्षेत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे । टाइम्स चारै क्वार्टरमा अघि रह्यो । टाइम्सले २६–१०, ३२–१३, २८–१७ र २७–२१ अंक जोड्यो ।

गोल्डेनगेटले ड्रिम टिमलाई १०२–७९ ले पाखा लगायो । गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले । उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन ।

शुरूआतमा २०–१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोश्रोमा २६–२६ को बराबरीमा रोकियो । तेश्रोमा ३३–२२ र चौथोमा २३–१२ को अग्रता बनाउँदै गोल्डेनगेटले जित अन्तर फराकिलो बनायो । सेमिफाइनलमा गोल्डेनगेटको भेट टाइम्ससँग हुनेछ । अर्को सेमिफाइन रोयल र नेपाल आर्मीबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्