नेपोलीले क्याग्लिएरीसँग अंक बाँड्यो



रोम, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ मा नेपोलीले बराबरी खेल्दै अंक बाँडेको छ । खेलको अन्त्यतिर सब्सिच्युट फरवार्ड भिक्टर ओसिमहेनले गोल गरेपछि उपाधि होडमा रहेको नेपोलीले इटालियन सिरी ‘ए’ लिगमा अंक बाँड्न सफल भएको हो । नेपोलीले घरेलु टोली क्याग्लिएरीसँग १–१ गोलको बराबरी खेलेको हो । सारडेग्ना एरिना क्याग्लिएरीमा घरेलु टोलीका लागि गास्टन पेरेइरोले गोल गर्दा नेपोलीका भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ५८औं मिनेटमा गास्टन पेरेइरोले गोल गर्दै घरेलु टोलीलाई शुरूवाती अग्रता दिलाए । उनले एलेसान्द्रो डेइओलाको पासमा गोल गर्न सफल भएका थिए । तर, क्याग्लिएरीले त्यो अग्रतालाई जोगाउन सकेन । खेलको ८७औं मिनेटमा सब्सिच्युट फरवार्ड भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीलाई हारबाट जोगाए । ६७औं मिनेटमा एन्ड्रिया पेटाग्नाको स्थानमा मैदान छिरेका ओसिमहेनले मारियो रूइको पासमा गोल गर्न सफल भएका थिए । यो बराबरीसँगै नेपोलीको समान ५४ अंक भएको छ ।

सिरी ‘ए’ कै अर्को खेलमा बोलोग्नाले स्पेजियालाई २–१ ले पराजित गर्दै तीन अंक बटुल्यो । बोलोग्नाको जितमा मार्को एर्नाउटोभिचले दुवै गोल गरे । स्पेजियाका मानाजले गरेको सुरूवाती गोल सान्त्वना बन्यो । जितपछि बोलोग्नाको २६ खेलबाट ३१ अंक भएको छ । स्पेजियाको भने २६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्