आर्मी दोस्रो स्थानमा उक्लियो



काठमाडौं ।

त्रिभुवन आर्मी क्लबले पुनरागमन हुँदै शानदार जित निकालेर जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मीले संकटा क्लबलाई ३–१ गोलअन्तरले हराएको हो । आर्मीलाई जित दिलाउन सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे । संकटाको तर्फबाट भएको एक मात्र गोल उत्तम राईले गरेका थिए ।

यो नतिजापछि आर्मी १२ खेलबाट २२ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको हो । आर्मीको स्थान बढुवा हुँदा एनआरटी तेस्रो स्थानमा झरेको छ । एनआरटी २ अंकले पछि परेको हो । यो नतिजाले अन्तिम चरणको खेल रोचक बन्ने पनि पक्का भयो ।

पहिलो स्थान मच्छिन्द्र एफसीले पक्का गरेपछि दोस्रो स्थानको लागि होड खुल्ला भएको हो । दोस्रो स्थानको लागि होडमा मनाङ मस्र्याङदी, आर्मी र एनआरटी गरी तीन टिम रहेका छन् । अन्तिम चरणको खेलमा मनाङको सामना आर्मीसँगै हुनेछ भने एनआरटीको सामना पुलिससँग हुनेछ ।

संकटालाई उत्तमले खेलको १५ मिनेटमै १–० को अग्रतामा राखेका थिए । यो अग्रता खेलको ५९औं मिनेटसम्म रहेको थियो । तर, ६०औं मिनेटपछि खेलको नतिजा आर्मीतिर मोडियो । उक्त समयमा सन्तोषले गोल गरेर खेल १–१ बराबरीमा ल्याए । त्यसपछि जर्ज प्रिन्सले ७४औं मिनेटमा २–१ अग्रतमा राखेका थिए ।

८६औं मिनेटमा टेकले थप गोल गरेपछि संकटाको लागि खेलमा फर्कने प्रयास समाप्त भएको थियो । यो हारपछि संकटा १२ खेलबाट १५ अंकमै रहेको छ । शुरूमा उपाधि होडमा रहेको संकटा अहिले सातौं स्थानमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्