अवैध कल सेन्टर सञ्चालन गर्ने ११५ जना पक्राउ



काठमाडौं ।

घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको अभियोगमा प्रहरीले राजधानीको दुई स्थानबाट १ सय १५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महशाखाको टोलीले विशेष सुराकीका आधारमा सोमबार राति र मंगलबार गरी ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ गरेको हो । प्रहरीले बिहान नयाँ बानेश्वरबाट ३५ जनालाई पक्राउ गरेको थियो । हिजो मंगलबार दिउँसो सानोठिमीबाट ८० जनालाई पक्राउ गरेको हो ।

सानोठिमीस्थित सनसिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका २९ वर्षीय चिनियाँ नागरिक वाङजिनावसहित सो कार्यमा संलग्न ८० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ भएका सबैलाई प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

भारतीय मूलका युवा युवतीहरूलाई छोटो समयको लागि अवैध अनलाइनमार्फत ५ देखि १० हजारसम्म ऋण लगानी गर्ने र तोकिएको समयमा ब्याज नतिरे धम्याउने र कलसेन्टरमार्फत सम्पर्कमा ल्याएर मोटो रकम असुल्ने गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले निश्चित ब्याजसहित तोकिएको समयभित्र उठाउन ऋणीहरूलाई सम्पर्कमा ल्याउने, ऋण नतिरे थर्काउने, गालीगलौज गर्ने, धम्काउने गरेका थिए । नेपाली युवा युवतीलाई रोजगारी दिने भन्दै ऋण दिएका भारतीय मूलकालाई धम्क्याउने गरेको सूचना पाएपछि प्रहरीले विशेष अनुसन्धानपछि सो अपार्टमेन्टमा छापा मारेको थियो । प्रहरीका अनुसार कल सेन्टरमा नेपाली युवायुवतीलाई रोजगारी दिने काम वाङजिनावले गरेका थिए ।

नेपाली युवायुवतीको प्रयोग गरी कल सेन्टर सञ्चालन गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले उक्त घरबाट ४७ जना महिला र ३३ जना पुरुष गरी ८० जनालाई पक्राउ गरेको हो । प्रहरीले ८० जनाको साथबाट १४ थान डेस्कटप कम्प्युटर, ४८ थान ल्याप्टप र २ थान आइप्याड बरामद गरेको छ । त्यस्तै नयाँ बानेश्वरबाट ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीले दुवै एकै प्रकारको काम भएको जनाएको छ ।

केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैलालीले बानेश्वरमा पक्राउ परेका सबैको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । प्रहरीले चिनियाँ नागरिकले नेपाली युवायुवती प्रयोग गरी भारतीय नागरिकलाई ठग्ने गरेको हुन सक्ने आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्