बैंकिङ कसुरमा एक चिनियाँसहित ३७ जना पक्राउ



काठमाडौं ।

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको पुरानो बानेश्वरबाट एक चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ । सिन्धुली घर भई ललितपुर बस्ने दीपक श्रेष्ठको नाममा लेमन ग्रुप अफ कम्पनी दर्ता गरी चिनियाँ नागरिक च्याङ हु वओले नेपालीको प्रयोग गरी बैंकिङ कसुर गरेको प्रहरीको दाबी छ ।

उनीहरुले इजी क्रेडिट, फ्रि क्यास, ह्याण्डी लोन, गो लोन, रुपी स्टार र हाइ क्यासलगायत एप्लिकेशनमार्फत गैरकानूनी तवरले लोन स्किम दिइरहेको छ भन्ने विशेष सूचनाका आधारमा सोमबार महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त प्रहरी टोलीले पुरानो बानेश्वरमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट ल्यापटपलगायतका सामग्री बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको परिसरले मंगलबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्