उल्टियो फैसला : ‘हत्या’ अभियोगमा सेनालाई जन्मकैद



हेटौंडा ।

सैनिकको यातनाका कारण मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनको फैसला उच्च अदालत पाटनको हेटौंडा इजलाशले उल्टाएर जन्मकैदको फैसला सुनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र घुँगी र निउरो टिप्न गएका करिब २४ वर्षीय राजकुमार चेपाङको निकुञ्जका सेनाको कुटपिटबाट ज्यान गएको थियो । उच्च अदालतको हेटौंडा इजलाशले चितवन जिल्ला अदालतको फैसला उल्टाउँदै आइतबार अभियुक्त सैनिक चिरणकुमार बुढालाई जन्मकैदको फैसला गरेको हो ।

न्यायाधीशहरु चण्डिराज ढकाल र नागेन्द्रलाल कर्णको इजलाशले उक्त फैसला सुनाएको थियो । न्यायाधीशद्वय ढकाल र कर्णले रायकिताबमा सैनिक बुढाको यातनाबाट चेपाङको मृत्यु भएको देखिएको भन्दै उनलाई जन्मकैद फैसला सुनाउनुभएको हो । अब अभियुक्त पक्षलाई सर्वोच्चमा पुनरावेदन गर्ने अधिकार रहन्छ ।

जिल्ला अदालत चितवनले नेपाली सेनाका हुद्दा बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेको थियो । तत्कालीन समयमा पीडित पक्षलाई २ लाख रुपियाँ क्षतिपूर्ति भराउने र पीडित राहत कोषमा २ सय रुपियाँ जम्मा गराउन पनि जिल्ला अदालतले फैसला गरेको थियो । त्यही फैसलाविरुद्ध उच्च अदालत पाटन इजलाश हेटौंडामा परेको पुनरावेदनमा फैसला उल्टिएको थियो ।

बुढाले दिएको यातनाका कारण घाइते भएका चेपाङको साउन ८ गते अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो । राजकुमारको उपचारका क्रममा ८ दिनपछि मृत्यु भएको थियो । राजकुमारका बुबा विष्णुलाल चेपाङले ६ सैनिकले आफ्ना छोरालाई कुटपिट गरेको भनी जाहेरी दिनुभएको थियो । विष्णुलालले कुटपिटमा संलग्नलाई कारबाही गर्न २०७७ भदौ २५ गते चितवन जिल्ला प्रहरी कार्यालयमा बुढाविरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।

राजकुमारसहित मिलनटोलका ७ युवा जंगलमा निगुरो र घुँगी टिप्न २०७७ साउन १ गते निकुञ्ज क्षेत्र प्रवेश गरेका थिए । बिनाहतियार उनीहरुलाई निकुञ्जभित्रको खोलामा घुँगी खोजिरहेको अवस्थामा सैनिक टोलीले दिउँसो करिब १ बजे नियन्त्रणमा लिएको थियो । उनीहरुले मानवअधिकारकर्मीलाई बताएअनुसार ५ पुरुषलाई सैनिकले एक/एक गरी बुट र लाठीले पिटेका थिए ।

राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका चेपाङसहितलाई राप्ती खोला तरेर चितवन राष्ट्रिय निकुञ्जको सिमानाभित्र रहेको ज्यँुडी खोलामा सेनाले नियन्त्रणमा लिएको थियो । बुढाको हेलचेक्र्याइँले चेपाङको ज्यान गएको जिल्ला अदालतको फैसलामा उल्लेख थियो । २०७७ असोज ४ मा पक्राउ परेका बुढा त्यसपछि जिल्ला अदालतको फैसला आउञ्जेल ९ महिना २४ दिन थुनामा बसेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्