च्याउ खेतीबाट मनग्य आम्दानी गर्दै कुँवर



लमजुङ ।

देशमा भनेजस्तो रोजगार पाइएन भन्दै बिदेसिएका युवाहरुका लागि बेंसीशहरका विष्णु कुँवर प्रेरणा बन्नुभएको छ । बेंसीशहर नगरपालिका–२ मगरपात्ले गाउँका ५२ वर्षीय कुँवरले गाउँमै बसेर च्याउ खेती गरेर रोजगारीमा सग्लन मात्र नभई वार्षिक लाखौं आम्दानी गर्नुहुन्छ ।

विगत ७ वर्षदेखि व्यावसायिकरूपमा च्याउ खेती गर्दै आएका कुँवरले तीन वर्षयता च्याउ खेतीबाट मात्रै वार्षिक ८ लाख रुपियाँ आम्दानी गर्दै आएको बताउनुभयो । कुँवरले अहिले २ वटा टनेलमा च्याउ खेती गर्नुभएको छ । गाउँमै उत्पादन गरेको च्याउलाई बजारमा लगेर प्रतिकेजी २ सय ८० रुपियाँसम्म बेच्ने गरेको बताउँदै कुँवरले भन्नुभयो– ‘च्याउको बिक्री गर्नका लागि बजारको खासै समस्या छैन, उत्पादित च्याउ बेंसीशहर, भोटेओडार र सुन्दरबजार क्षेत्रका बजारहरुमा लगेर बिक्री गर्ने गरेको छु ।’

‘च्याउबाट आम्दानी भरपुर छ’, उहाँ भन्नुहुन्छ– ‘सधैं एकनाशको कमाइ हुँदैन तर हार नमानी निरन्तर काम गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ ।’ व्यावसायिकरूपमा च्याउ खेती गर्नका लागि यसको प्राविधिक पक्षबारे ज्ञान हुनुपर्ने अन्यथा यसमा गरिने लगानीबमोजिम कमाइ गर्न नसकिने कुँवर बताउनुहुन्छ । थोरै जग्गामा कम लगानीमै गर्न सकिने च्याउ खेतीका लागि विशेष स्याहारको आवश्यकता पर्ने उहाँको अनुभव छ ।

विषादिको प्रयोगबिना नै च्याउको खेती गर्न सकिने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । कुँवरले अहिले जापनिज कल्चर ब्लुक्याप ओस्टाटसको प्रयोग गरेर कन्ये च्याउ उत्पादन गर्दै आउनुभएको छ । टप स्पोनिक प्रविधिबाट सानोबलमा हालेर च्याउ उत्पादन गर्दा लामो समयसम्म उत्पादन भई रहने पनि उहाँले बताउनुभयो । यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सकिन्छ । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन ।

गाउँघरमा च्याउ खेतीका लागि सजिलै उपलब्ध गर्न सकिने पराल, केराको पातलगायत सामग्री नै मुख्य हुन् । यसबाहेक टहरा बनाउन खर, बाँसलगायत पनि चाहिन्छ । यी साधन गाउँघरमा सहज रूपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन । बजारमा च्याउका बीउ सहजै किन्न पाइन्छ ।

च्याउ खेती चिसो मौसम र ठाउँहरुमा उत्पादन राम्रो हुने कुँवरले बताउनुभयो । पहाडी क्षेत्रमा यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी वा खरका छाप्रो र टहरामा पनि गर्न सकिन्छ । त्यस्तै, गाउँमा आफ्नै घर वरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिन्छ । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त नहनुने उहाँ बताउनुहुन्छ ।

च्याउ खेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो भएको हुनुपर्छ । जमिनमा पानी जम्न दिनुहुँदैन । तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्