पटक–पटक सडक बन्द गर्दा यात्रु हैरान



पाल्पा ।

बाटोको स्तरोन्नति र चौडाइ बढाउने नाममा पाल्पा जिल्ला भएर सञ्चालन हुने राजमार्गमा निर्माणकार्य जारी रहँदा यात्रा गर्ने यात्रु सवारी साधनले सास्ती भोग्नुपरेको छ । निर्माण सुस्त हुने र पटक–पटक बाटोमा निर्माणकार्य भइरहँदा यात्रीलाई सास्ती भएको हो ।

सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने र तानसेन–रिडी–तम्घास सडक खण्डमा आवत–जावत गर्नेले सास्ती व्यहोर्नुपरेको छ । बुटवल–तानसेन सडक खण्डको जोखिमयुक्त भनेर चिनिने दोभानदेखि सिद्धबाबासम्मको सडकखण्ड, तानसेन–तम्घास खण्डको जोर्ते खण्डलगायत केही समययता तानसेन नजिकैको वनदेवी क्षेत्रमा निर्माण र स्तरोन्नतिको काम भइरहेको र यी क्षेत्रमा कतै बाइपास त कतै सोही सडक नै प्रयोग गर्नुपर्ने वाध्यताका कारण सास्ती भएको हो । सोमबार पाल्पाको तानसेन भएर बुटवल जाँदै गरेका रैनादेवी छहरा गाउँपालिकाका सुनील थापाले सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा लामो समय जाममा फसेको बताउनुभयो  ।

उहाँका अनुसार साँघुरो बाटोमा एकातर्फी मात्र सवारीसाधन पास हुने व्यवस्थाले गर्दा निकै सास्ती भोग्नुपरेको हो । ‘हतार भएर के गर्नु ? सवारी अघि नै बढ्दैन । ट्रक, ट्रिपर, साना सवारीसाधनको बीचमा फसेका कारणले समस्या हुँदाहुँदै पनि विकल्प नभएकाले बाटोमै धेरै समय रोकिनु पर्यो ।’ –थापाको गुनासो थियो । त्यसै पनि सिद्धबाबा क्षेत्रमा असारदेखि असोजसम्म पहिरो र ढुंगा खसेर जाम हुने गर्दछ । पछिल्लो केही समयमा यही क्षेत्रमा सडक मर्मत, नाली निर्माणलगायतका कामका कारण यात्रुले सास्ती खेप्नुपरेको हो  । तर, निर्माणकार्यमा भएकोे ढिलाइ यात्रुले समस्या भोग्नुपरिरहेको छ  ।

सवारी दोहोरो गुड्ने सडकमा एकतर्फी चलेको महिनौं भइसक्यो । जतासुकै नाली निर्माण, मर्मत, खन्ने काम भएको र त्यसमा पनि ढिलाइ गर्दा समस्या आएको सवारी चालक धनबहादुर खाम्चा बताउनुहुन्छ । खाम्चाका अनुसार बाटोमा निकै समय जाममा फस्नुपर्नै भएकाले चार महिनायता कहिल्यै पनि समयमा गन्तव्यमा पुग्न सकिएको छैन । निर्माणकार्य सँगसँगै त्यहाबाट निस्कने माटो, ढुंगा बिक्री गर्ने र त्यसको व्यवस्थापन गर्दा नै निर्माण व्यवसायीले काममा ढिलाइ गरेको कतिपयले आरोप पनि लगाउँछन्  । स्थानीयका अनुसार ‘ढुंगा छुट्याएर राख्ने र बिक्री गर्ने गरेकाले पनि समस्या छ ।

तर, सडक डिभिजन कार्यालयले भने निर्माण व्यवसायीलाई सडकमा अवरोध नगर्न पत्र नै दिएको जनाएको छ । यस क्षेत्रमाम सवारीसाधनको चाप अधिक रहेको र दैनिक सयौं ट्रिपर, मालवाहक ट्रक, यात्रुवाहक बस, साना सवारीसाधन गुड्ने गर्दछन् । पाल्पाबाहेक गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत, कास्की, म्याग्दी, मुस्ताङसम्मका सवारीसाधन र यात्रुले चाहेर होस् वा नचाहेर सिद्धार्थ राजमार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ ।

निर्माण व्यवसायीले समयमा काम पूरा नगरेपछि सडक डिभिजन पाल्पाले पटक–पटक कुनै बेला दिउँसो त कुनै समय पाल्पा–गुल्मी सडक खण्ड रातिको समयमा बन्द गरेर कटानको काम गराउने गरेको छ । तर, यो सडक खण्डमा पनि विगत लामो समयदेखि भीर कटान कार्य भए पनि अझै पूर्ण भएको छैन । जिल्ला सुरक्षा समितिसँगको बैठकबाट काम गराउन जोड दिने निर्णय भएको भए पनि समयमा निर्माण व्यवसायीले काम नगर्ने गरेकाले सडक बन्द गर्नुपर्नै बाध्यता आइलागेको सडक डिभिजन कार्यालयका प्रमुख रामेश्वर लम्सालले बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्