मदिरा व्यवसायी अग्रवाल पक्राउ



काठमाडौं (नेस) ।

विभिन्न बैंक ठगी गरेको अभियोगमा ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । पैसा नभएको चेक दिएको भन्दै काठमाडौं प्रहरी परिसरमा उजुरी परेपछि अग्रवाललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरू गरेको छ । दरबारमार्गमा रहेको ग्रीनलाइन स्टोरबाट विदेशी ब्रान्डका मदिरा बिक्री गर्ने गरेका थिए । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले पैसा नभएको चेक दिएको भनेर उजुरी गरेपछि अग्रवाल पक्राउ परेको बताउनुभयो ।

व्यवसायी सञ्जय अधिकारी र टंक शम्शेर जबराले पैसा नभएको चेक दिएको भनेर उजुरी गरेका थिए । अधिकारीलाई ५० लाख र जबराको १ करोड ५० लाखको पैसा नभएको चेक दिएका कारण अग्रवाल पक्राउ परेको प्रवक्ता मैनालीले जानकारी दिनुभयो । अग्रवालले आफ्नो ऋणभन्दा धितो राखेको सम्पति धेरै भएकाले ऋण तिर्न नसकेको बताउँदै आएका थिए ।
उनकी बहिनी रजनी अग्रवालले आफ्नो दाजुलगायत परिवार नै हराएको भनेर प्रहरीमा निवेदन दिनुभएको थियो ।

अग्रवालले ४ वटा बैंक, केही वित्तीय संस्था तथा केही व्यक्तिसँग समेत पैसा लिएर आफ्नो व्यापार गर्दै आएका थिए । अग्रवालले बैंक तथा वित्तीय संस्थालाई झण्डै ८० करोड रुपियाँ तिर्नुपर्ने छ । अग्रवालले मिटर ब्याजमा समेत पैसा लिएर चलाएका कारण टाट पल्टिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्