जिल्लाको एकमात्र शल्यक्रियासहितको प्रसूति सेवा पुनः सञ्चालनमा



रामेछाप, (नेस) ।

कर्मचारीको अभावमा डेढ वर्षदेखि बन्द भएको रामेछाप जिल्लाको एकमात्र शल्यक्रियासहितको प्रसूति सेवा पुनः सञ्चालनमा आएको छ । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीलाई मन्थली अस्पतालमा स्तरोन्नति गरेसँगै गत मंगलबारदेखि शल्यक्रियासहितको प्रसूति सेवा पुनः शुरू भएको हो ।

प्रसूति सेवा शुरू भएको पहिलो दिन चिकित्सक समीर क्षेत्रीसहित सात जनाको टोलीले मन्थली नगरपालिकाकै वडा नं ५ सुनारपानीकी २२ वर्षीय गर्भवती महिला मनिषा थापा कार्कीको सफल शल्यक्रिया गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँलले बताउनुभयो । उहाँले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै मन्थली अस्पतालमा अब जटिलबाहेक सबै उपचार सेवा दिन सकिने बताउनुभयो । मन्थलीमा शल्यक्रिया सहितको प्रसूति सेवा शुरू भएपछि प्रसूतिका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

सामान्य रूपमा सुत्केरी हुन नसकेका महिलाहरूको शल्यक्रिया गरेर बच्चा निकाल्ने यो सेवा बन्द हुँदा रामेछाप, ओखलढुंगा, सिन्धुली र दोलखाका गर्भवती महिलाको शल्यक्रिया गर्नुपर्दा धुलिखेल तथा काठमाडौं लैजानुपर्ने बाध्यता थियो । वि.सं.२०७३ वैशाखबाट शुरू भएको यो सेवा चिकित्सकको अभावमा पटकपटक बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्