कांग्रेस वागमती प्रदेश समितिको दोस्रो बैठक सम्पन्न



सुकुटे (नेस) ।

नेपाली कांग्रेस वागमती प्रदेश कार्यसमितिको दोस्रो पूर्ण बैठकले जगदिशनरसिंह केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा आइतबार राती सम्पन्न भएको बैठकले अघिल्लो स्थानीय निकाय निर्वाचनमा भएको मतसंख्यासहितको तथ्यांक संकलन गरी, आगामी दिनमा खेल्नुपर्ने भूमिकासहितको सुझाव १५ दिनभित्र प्रदेशले जिल्ला पार्टीमा पठाउने र जिल्लामार्फत स्थानीय निकायमा पठाउने निर्णय भएको छ ।

बैठकले अहिलेको जल्दोबल्दो विषय अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौताको सम्बन्धमा केन्द्रले उठाएको विषयवस्तु समावेश गरी कम्युनिस्टले छरेको भ्रमलाई चिर्दै आमजनताले बुझ्ने सरल र स्पष्ट भाषामा थप विषयवस्तु तयार गरी जिल्लामार्फत स्थानीय निकायमा पठाई जनतालाई बुझाउने निर्णय गरेको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यहरूको मासिक लेबी तोकेको छ । साथै बैठकमा कांग्रेस वागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेबी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिनुभयो । बैठकले प्रदेशको प्रधान कार्यालय हेटौंडा र काठमाडौंको सम्पर्क कार्यालय नियमित सञ्चालन गर्दै पार्टीको दैनिक राजनीतिक कार्यक्रम शुरू गर्ने, प्रदेश सदस्यहरूको मर्यादाक्रम मिलाउन संयोजक महामन्त्री कञ्चनचन्द्र बादे र सदस्यहरूमा सहमहामन्त्री जीवन डंगोल र ऋषिराम घिमिरे तोकेको छ ।

कांग्रेस वागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेश पदाधिकारी, सदस्यहरू, जिल्ला सभापतिहरूले एमसीसी, स्थानीय निकायको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा गर्नुपर्ने कार्यको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्