रोयल उपाधि नजिक



काठमाडाैं । 

रोयल बास्केटबल एकेडेमी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको महिलामा सोमबार फाइनलमा प्रवेश गरेको छ । पाँच टिम सहभागी महिलाको राउन्ड रोविन लिगमा शतप्रतिशत जित आत्मासात् गर्दै विजेताका रुपमा रोयल फाइनलमा पुगेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो अन्तिम लिगमा रोयलले रुपन्देहीलाई ८६–४० को फराकिलो अन्तरले पराजित गर्‍यो । रोयलकी मनता गुरुङले १६ अंक जोडिन् । रुपन्देहीकी दीपिका गुरुङले १४ स्कोर गरिन् । त्यसअघिका लिगमा रोयलले ललितपुर हाइ, नेपाल प्रहरी क्लब र कीर्तिपुर नगरपालिकालाई हराएको थियो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोयल र नेपाल आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । पहिलो क्वाटरफाइनलमा रोयलले कीर्तिपुर नगरपालिकालाई ७०–६४ ले पाखा लगायो । रोयलका निकेश मगर र कीर्तिपुरका सुरज खड्गीले समान १६ स्कोर गरे । दोश्रो सेमिफाइनलमा आर्मीले क्याम्पियन सोलोमाथि ७८–५६ को जित निकाल्यो । आर्मीका लागि सौरव श्रेष्ठले २३ अंक जोडे । क्याम्पियनका जसाङ सुनुवारले १२ स्कोर गरे ।

प्रतिक्रिया दिनुहोस्