एमसीसीविरुद्ध एमाले, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता सडकमा


न्युज अफ नेपाल, महोत्तरी ।

सत्तारुढ दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । एमसीसीको एजेण्डालाई संसद्‍मा टेबुल गराएर भित्र(भित्रै अनुमोदन गर्ने गम्भीर षडयन्त्र भएको भन्दै आज महोत्तरीको बर्दिबास सहरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो ।

माउ पार्टीका शीर्ष नेताहरूले भातृ संगठन तथा जनतालाई झुक्याएर एमसीसी अनुमोदन गर्ने दिशातर्फ अघि बढिरहेको भन्दै प्रदर्शनकारीहरूले आफ्ना नेताहरूलाई खबरदारीसमेत गराएको छ ।सर्वसाधारण, युवा तथा भातृ संगठनका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रदर्शनलाई आजबाट चरणवद्धरुपमा अगाडी बढाइने माओवादी केन्द्रका युवा नेता सौरभ खडकाले जानकारी दिए ।

एमसीसी फिर्ता नभएसम्म महोत्तरीका हरेक देशभक्त नागरिकलाई संघर्षको अभियानमा सहभागी गराउने नेताको खडकाको भनाइ छ ।प्रदर्शनमा एमसीसीको विषयमा मौन बसेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका स्थानीय नेतासमेत सहभागी भएका छन् । जन्ताको हित विपरीत नेताको स्वार्थको लागि एमसीसी अनुमोदन गर्नु घातक हुने बताउँदै नेकपा एमालेका स्थानीय नेता कुमार भण्डारीले चरणबद्ध आन्दोलनको स्वरूप परिवर्तन गर्दै लैजाने बताएका छन् ।

यसअघि पनि माओवादी केन्द्रको भातृ संगठन वाइसेलले एमसीसीको विरोधमा मसाल जुलुस निकालेको थियो । नेताहरूले सबैलाई भ्रममा पार्नेगरी भित्रभित्रै षड्यन्त्र गरिरहेको बिषयलाइई मध्यनजर गर्दै आन्दोलनको जरुरत भएको वाइसेल नगर कमिटीका इन्चार्ज बाबु चालाइगाईंले बताए । प्रदर्शनमा नेपाली कांग्रेस भने सहभागी थिएन ।