जनप्रतिनिधिको मिलेमतोमा किर्ते कागज गरेर जग्गा र मुआब्जा खाए


सीताराम अधिकारी, धादिङ ।

स्थानीय जनप्रतिनिधिको मिलेमतोमा त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुई जना भाइको जग्गा जनप्रतिनिधिको मिलेमतोमा खाइदिएको खुलेको छ ।

सल्यानटार ३ रझ अन्तरगत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा कृष्णबहादुरका ठुलोबाबुको छोरो मनबहादुर दरैले नक्कली कागज बनाएर जग्गा खाएपछि दरै परिवार बिचल्लीमा परेका छन् ।मजदुरी गर्दै जीवन धानीरहेका कृष्णबहादुर परिवार गाउँ आउँदा आफ्नो जग्गा अरूले खाएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयमा आइतबार उजुरी दिनुभएको छ ।

मनबहादुरले कृष्णबहादुर समेत २०४६ जेठ २६ गते देखि हराइरहेको र आफू नजिकैको हकदार भनेर किर्ते कागज बनाई बुढीगण्डकी जलविद्युतको मुआब्जा समेत खाएको कृष्णबहादुरले दिएको उजुरीमा उल्लेख गर्दै न्याय मागेको बताउनुभएको छ ।२०४६ मा बेपत्ता भएको भनिएका कृष्णबहादुरले २०५४ साउन १२ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट नागरिकता बनाएको देखिन्छ ।अर्को किर्ते कुरा समेत २०७६ सालमा बनाइएको कागजहरू जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । २०७६ मा बनाइएको कागजमा कृष्णबहादुर हराएको बेलामा नजन्मिएका सपना दरै र भरखर जन्मिएका सूर्यबहादुर दरै साक्षी बसेको देखाइएको छ । तत्कालीन वडा सचिव नारायण थपलियाले तयार पारेको सर्जमिन मुचुल्कामा कार्यवाहक वडाध्यक्ष बनाइएका रामहरी गिरिले रोहबरमा हस्ताक्षर गरेका छन् ।

नेपाली काग्रेसको टिकटबाट निर्वाचित त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोजबहादुर रिजालले कृष्णबहादुर दरै समेत बेपत्ता भएकोले कृष्णबहादुरको आमाको नाममा रहेको जग्गा र सम्पत्ति मनबहादुरको नाममा नामसारी गरिदिन गाउँपालिका कार्यालय र मालपोत कार्यालयलाई सिफारिस समेत गर्नुभएको छ ।जिल्ला मालपोत कार्यालयले समेत कानुन विपरीत बेपत्ता भएका व्यक्तिको खोजी नगरी थप किर्ते कागज बनाएर जग्गा नामसरि गरिदिएको देखिन्छ । कोही मानिस बेपत्ता भयो भने देवानी संहिता २०७४ को दफा ४० बमोजिम जिल्ला अदालतले बेपत्ता घोषणा भएको प्रमाणित गर्नु पर्ने हुन्।

मालपोत कार्यालयले आफैले टिप्पणी उठाएर नामसारी गरेको देखिन्छ । जिल्ला मालपोत कार्यालयमा तत्कालीन अवस्थामा मालपोत अधिकृत  रूपमा कार्यरत पुरुषोत्तम भण्डारी धादिङबाट सरुवा भईसक्नु भएकोले टेलिफोनबाट सम्पर्क गर्न सकिएन ।आफ्नो नाममा जग्गा आएपछि मनबहादुरले बुढीगण्डकी जलविद्युत आयोजनाबाट ६३ लाख ७५ हजार ५ सय ३९ रुपैयाँ मुआब्जा समेत लिएको देखिएको छ ।

कृष्णबहादुर दरै बेपत्ताको सम्बन्धमा वडाध्यक्ष भोजबहादुर रिजालले गाउँलेको मुचुल्का र मनबहादुरको निवेदनको आधारमा मालपोत कार्यालयलाई सिफारिस गरेको बताउनुभयो ।