प्रधानमन्त्री रोजगार कार्यक्रममा ९ वटा योजना छनोट



लमजुङ ।

लमजुङको दूधपोखरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यस वर्ष ९ वटा योजना छनोट भएको छ । छनोट भएको योजनामा कामसमेत शुरु भइसकेको छ । स्थानीयस्तरमै रोजगारी दिने उद्देश्यले शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालू आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकालाई ४७ लाख बजेट विनियोजन भएको थियो ।

सोही बजेटको परिधिभित्र रहेर योजना छनोटसँगै रोजगारी सिर्जना गरिएको गाउँपालिकाका रोजगार संयोजक रामहरि न्यौपानेले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी ढंगबाट समयमै सम्पन्न गर्न वडागतरूपमा योजना छनोट गरी योजनाको कामसमेत शुरु गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. १, २ र ४ मा एक/एक वटा, वडा नं. २, ५ र ६ मा दुई/दुई वटा योजना छनोट भएका छन् । सबै योजना गोरेटो बाटो मर्मत तथा सिँढी निर्माणसम्बन्धी रहेका छन् । हाल वडा नं. १, २, ३ र ४ मा योजनाहरुको काम शुरु भएको रोजगार संयोजक न्यौपानेले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी बेरोजगार सूचीमा सूचीकृत भएकामध्ये ८० जनाले १ सय दिन बराबरको रोजगारी पाउने भएका छन् ।

उनीहरुलाई एक दिनको पारिश्रमिक ५ सय ७७ प्रदान गरिनेछ । गत वर्ष दैनिक ज्याला ५ सय १७ रुपियाँ रहेकोमा सरकारले यस वर्षबाट ६० रुपियाँ वृद्धि गरी दैनिक ज्याला ५ सय ७७ पुर्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्