बुबाको नाममा अक्षयकोष स्थापना



दोलखा ।

जिल्ला समन्वय समिति दोलखाका सदस्य एवं युवा समाजसेवी विदुर शर्माले आफ्नो स्वर्गीय बुबा हरिशङ्कर उपाध्यायको नाममा मेलुङ गाउँपालिकामा रहेका विभिन्न ६ वटा विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको छ ।

मेलुङ गाउँपालिका–३ मा रहेको लक्ष्मी मावि र वडा नम्बर ६ मा रहेको त्रिभुवन माविमा १ लाख ५० हजार र अन्य चारवटा विद्यालयमा १ लाख ५ हजारको अक्षय कोष स्थापना गरेको शर्माले बताउनुभयो । उक्त अक्षयकोषको ब्याजबाट विद्यालयले जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको विद्यालयहरुले जनाएका छन् ।

समाजसेवी शर्माले आफ्नो बुबाको १२औं दिनको पुण्यतिथिमा गत बुधबार वडा नम्बर ३ को लक्ष्मी माविका कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने १ सय ८० जना विद्यार्थीलाई ट्रयाक, २० जनालाई झोला, २० जनालाई स्टेसनरी सामग्री तथा विद्यालयलाई २० हजार नगद र खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

त्यसै गरी, वडा नम्बर २ को कालिका माविका २० जना विद्यार्थीलाई नगद ५ सयको दरले १० हजार, २० जना विद्यार्थीलाई झोला र २० जना विद्यार्थीलाई स्टेसनरीको सामान हस्तान्तरण गरेको शर्माको कथन छ । स्व. हरिशङ्कर उपाध्याय अक्षयकोषले लक्ष्मी मावि र त्रिभुवन माविमा लाइब्रेरीका लागि समेत सहयोग गरेको छ ।

मेलुङ गाउँपालिकामा ११ वटा विद्यालय रहेको र निकट भविष्यमै सबै विद्यालयमा स्व. हरिशङ्कर उपाध्याय अक्षयकोष स्थापना गर्ने लक्ष्य लिइएको समाजसेवी शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्