‘ड्रिम बिग च्यालेन्ज–२०२२’ आयोजना हुँदै

उत्कृष्ट आइडिया प्रस्तुत गर्ने विद्यार्थीलाई नगद पुरस्कार



काठमाडौं ।

विद्यार्थीका लागि ‘दोस्रो ड्रिम बिग च्यालेन्ज–२०२२’ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ अमेरिकाको साइन्स टेक्नोलोजी एन्ड इनोभेसन कमिटीले कार्यक्रम आयोजना गर्न लागेको हो ।

आइतबार शिक्षा पत्रकार समूह र गैरआवासीय नेपाली संघ अमेरिकाले संयुक्तरूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको घोषणा गरिएको थियो । यसमा स्नातक तह अध्ययनरत अमेरिका र नेपाल दुवै देशका विद्यार्थी सहभागी हुन पाउनेछन् । ‘दोस्रो ड्रिम बिग च्यालेन्ज–२०२२’ कार्यक्रमका संयोजक एवं साइन्स टेक्नोलोजी एन्ड इनोभेसन कमिटीका अध्यक्ष डा. माधव पाण्डेले नेपाल र अमेरिकामा रहेका विद्यार्थीलाई समूहगत प्रतिस्पर्धा गराइने जानकारी दिएका छन् । विद्यार्थीमा ‘क्रिटिकल थिङ्किङ’को विकास गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको डा. पाण्डेले बताउनुभयो । प्रतिस्पर्धामा समूहकार्यबाट सिकाइ आदानप्रदान हुने, एक–अअर्कामा सांस्कृतिक ज्ञान र अन्तरघुलन हुने, सिकाइ सीप सिक्ने अवसर पाउने अपेक्षा राखिएको उहाँको भनाइ थियो ।

दुवै देशमा अध्ययनरत विद्यार्थीलाई संयुक्तरूपमा प्रतिस्पर्धा गराएर प्रथमलाई ३ हजार, दोस्रोलाई २ हजार र तेस्रोलाई १ हजार अमेरिकी डलर प्रदान गर्ने संघका अध्यक्ष बुद्धिसागर सुवेदीले जनाउनुभयो । यसअघिको च्यालेन्जमा अमेरिकामा विद्यालयतहमा अध्ययनरत विद्यार्थी मात्रै सहभागी गराइएको थियो । यसपटक भने स्नातक तहका र नेपालका विद्यार्थीलाई पनि सहभागी गराउन लागिएको हो ।

प्रतिस्पर्धामा एक मिलियन डलर पाएमा त्यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरुले आफ्नो योजना र अवधारणा प्रस्तुत गर्नुपर्ने जनाइएको छ । जसमा विद्यार्थीहरु समूहमा बसेर काम गर्ने र समूहमै ‘आइडिया’ प्रस्तुत गर्ने डा. पाण्डेले जानकारी दिनुभयो ।

यस प्रतिस्पर्धामा सहभागी हुन स्नातक तहमा जुनसुकै संकायमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो नाम, ठेगाना, कलेजको नामसहित मचभबmदष्न२लचलगकब।यचन मा इमेलमार्फत आउँदो मार्च २० भित्र आवेदन दिन सक्नेछन् । त्यसपछि २ सय शब्दमा प्रतिस्पर्धामा सहभागी हुनुपर्नाका कारण, आफ्नो योजना र आइडियासहितको लेखन दुई हप्ताभित्र पठाउनुपर्नेछ । सोही लेखनका आधारमा आवेदकमध्येबाट १ सय विद्यार्थी छनोट गरिनेछ । यसरी छानिएका दुवै देशका विद्यार्थीलाई २५ समूहमा राखी प्रतिस्पर्धा गराइनेछ । छानिएका विद्यार्थीलाई विज्ञबाट प्रशिक्षित गराइनेछ । अप्रिल ३० भित्र आफ्नो योजनालाई लिखित रूपमा बुझाउनुपर्नेछ । अन्त्यमा मे २८ र २९ मा समूहका प्रत्येक सदस्यलाई जुममार्फत् योजना प्रस्तुत गर्न लगाई विजेता घोषणा गरिने जनाइएको छ ।

सीप क्षमता आदानप्रदान गर्ने र स्रोत प्रदान गरेर त्यसको परिचालनका विषयमा प्रस्तुत गरेका प्रस्तावका आधारमा राम्रो प्रस्तुतिलाई पुरस्कृत गरिने डा. पाण्डेले जानकारी दिनुभयो ।

गैर आवासीय नेपाली संघ अमेरिकाका प्रवक्ता तोया दाहालले अमेरिकामा कार्यक्रमभन्दा पनि मान्छेका अवधारणा र योजना विनिमय हुने हुँदा दुवै देशका विद्यार्थी मिलेर समूहगत रूपमा आपसी योजना बनाउने संलग्नताले सकारात्मक परिणाम मिल्ने विश्वास व्यक्त गर्नुभयो । गैर आवासीय नेपाली संघ यूएसए र शिक्षा पत्रकार समूहबीचको अर्थपूर्ण सहकार्यको शुरुआतले नेपालको शिक्षा विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्