‘शान्ति सन्देश फैल्याउने भिक्षुलाई सम्मान गर्नुपर्छ’



काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश–विदेशमा शान्ति सन्देश फैलाउनका लागि बौद्ध भिक्षुहरुको अतुलनीय योगदान रहेकाले उनीहरूलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित विश्व शान्ति प्रणिधान पूजा कार्यक्रलाई सम्बोधन गर्दै उहाँले सो बताउनुभएको हो ।

‘नेपालसहित विश्वमा शान्ति फैलियोस् भनेर बौद्ध भिक्षुले सधैं कामना गरी पूजाआजा गर्ने भएकाले भिक्षुको सम्मान गर्नुपर्छ ।’ – मन्त्री आलेले भन्नुभयो । ‘भारतले बुद्ध भारतमा जन्मेका हुन् भनेको थियो तर हाम्रा बौद्ध भिक्षुहरुले बुद्ध नेपालमै जन्मिएका हुन् भनेर देश–विदेशमा प्रचार–प्रसार गरेका कारण अहिले भारतले पनि बुद्ध नेपालमै जन्मिएका हुन् भन्न थालेका छन्’, उहाँले भन्नुभयो– ‘यो योगदानका लागि भिक्षु तथा धर्मावलम्बीलाई धन्यवाद दिन चाहन्छु ।’

लुम्बिनीमा पूजाआजाका लागि आउने बौद्ध भिक्षुमाथि सुरक्षाकर्मी, आन्तरिक कर्मचारीबाट अभद्र व्यवहार हुने गरेको गुनासो आएपछि मन्त्री आलेले उनीहरूलाई अभद्र व्यवहार नगर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको थियो ।

यसै गरी, लम्बिनी क्षेत्रको विकासका लागि आफूले र मन्त्रालयका तर्फबाट गर्न सक्ने सक्दो सहयोग गर्ने आश्वासनसमेत उहाँले दिनुभयो । लुम्बिनीको विकास गर्न सके यहाँ हजारौं, लाखौं पर्यटक भित्र्याउन सकिने भएकाले यहाँको विकासका लागि कुनै कमी नहुने समेत मन्त्री आलेले बताउनुभएको थियो । ‘प्रेम आले नागरिकप्रति गद्दारी गर्ने छैन, विकास गर्ने छ, गलत गर्नेलाई कुनै हालतमा पनि छोड्ने छैन ।’ –उहाँले भन्नुभयो ।

मन्त्री आलेले आफू मन्त्री भएर आएपछि क्यासिनो सञ्चालन गरेर रोयल्टी नतिर्ने विभिन्न क्यासिनो तथा होटलहरुलाई कारबाही गरेको र वर्षौंसम्म पनि सरकारलाई तिर्न बाँकी राखेको रोयल्टी तिराएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्