नर्स प्रतीमाद्वारा स्वास्थ्य सामग्री वितरण



रसुवा ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–१ थुमन गाउँका करिब ४ सय घर–परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । थुमन स्वास्थ्य चौकीलाई शनिबार सामाजिक अभियानमा लागेकी नर्स प्रतीमा लामाले हस्तान्तरण गर्नुभएको थियो ।

स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सन्ट्रेसनमेसिन १ थान, नेवुलाइजर मेसिन २ थान, पल्स अक्सिमिटर २ थान, फोल्डिङ बेड १ थान, बेड म्याट्रिस १ थान, सिरानी १ थान सर्जिकल माक्स २ बक्स, सेनिटाइजर २ जार रहेको छ । स्वास्थ्य र शिक्षित समाज निर्माण अभियानका अभियानमा लामो समयदेखि लागिपर्नुभएकी प्रतीमाले स्थानीय जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा सो सामग्री वितरण गर्नुभएको हो ।

जब मान्छे स्वास्थ र शिक्षित हुँदैन तबसम्म त्यस ठाउँको दिगो विकास हुन नसक्ने भन्दै कार्यक्रममा नर्स प्रतीमाले सम्बोधन गर्दै भन्नुभयो– ‘रसुवाको दिगो विकासका लागि स्वास्थ र शिक्षित समाज निर्माण गर्न अभियान सञ्चालन गर्दै जिल्लाको कुना–कुनामा पुगेको छु ।’ सोही क्रममा थुमनमा आइपुगेको पनि उहाँको भनाइ छ ।

नर्स प्रतिमाले दुर्गम गाउँका जनतालाई सहज र सुलभ तरिकाले स्वास्थ्य सेवामा पहुँच पुर्याउने तथा आकस्मिक सेवाको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर स्वास्थ्य सामग्री वितरण गरेको बताउनुभयो । स्वास्थ्य सामग्री सहयोग गर्न आएकोमा खुसी व्यक्त गर्दै जनप्रतिनिधि, आमा समूह तथा ज्येष्ठ नागरिकले खादा लगाएर उहाँको टिमलाई स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्