अनुमाया र प्रिन्सले जिते उपाधि



काठमाडौं ।

नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचालेका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगितामा राईले १२ वरीयतातर्फ राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्टका आधारमा हराउँदै उपाधि उचालेकी हुन् । अनुमायाले नगद ५० हजार र उविजेता रशिलाले नगद २८ हजार प्राप्त गरे । महिलातर्फ तृतीय स्थान प्राप्त गर्ने खेलाडी नङ्गशल तामाङ्ग र अमिता गिरीले समान नगद १२ हजार ५ सय प्राप्त गरे ।

खेल सामग्री उत्पादक संस्था लिनिङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिताको पुरुष एकल (उच्च १६ औं बरियता प्राप्त) मा विश्व वरीयतामा जुनियर तर्फ नम्बर १ रहेको प्रिन्सले सेनाका नविन श्रेष्ठलाई २१–१०, १८–२१, २१–१८ ले पराजित गर्दै उपाधि रक्षा गरे । प्रिन्स अघिल्लो १०औं संस्करणका विजेतासमेत हुन् । विजेता प्रिन्सले नगद ५० हजार प्राप्त गर्दा उपविजेता नविनले नगद ३० हजार प्राप्त गरे । तृतीय स्थान हात पारेका दीपेश धामीले नगद १४ हजार र प्रफुल महर्जनले नगद १२ हजार ५ सय प्राप्त गरे । प्रफुलले लिगमा एक खेल हारेका कारण १ हजार ५ सय कम प्राप्त गरेका हुन् ।

महिला युगलतर्फ सेनाका रशिला र अमिता गिरीको जोडीले नम्बर एक भोजपुरकी नङ्शल र अनुमायालाई हराएर उपाधि हात पार्यो । पुरुष युगलतर्फ दीपेश र बिजित थापा मगरको जोडीले उपाधि हात पार्ने क्रममा सेनाका रुकेश महर्जन र सुरोज महर्जनको जोडीलाई हराएको थियो । विजेता जोडीले नगद २० हजार र उपविजेता जोडीले नगद १० हजार र तृतीयले नगद ५ हजार प्राप्त गरे ।

पुरुषको उच्च १६ वरीयतादेखि बाहेकतर्फ कास्कीका विधान अधिकारीले बाजी मार्दै उपाधि उचाले । विधानले सेनाका पविन लिनथेपमाथि जित हात पारेका थिए । महिलातर्फ एनआरएन सानिया चन्दले कैलालीकी एलिना सुनारलाई पराजित गर्दै उपाधि जितेकी थिइन् । विजयीले नगद २० हजार, उपविजयीले नगद १० हजार र तृतीय स्थानकाले नगद ५ हजार प्राप्त गरे ।
पुरुष यु १७ तर्फ सेनाका डेभिड थापा मगरले १६ फिदरका क्षितिज खनालमाथि कठिन जित निकाले । महिला तर्फ सेनाकी रशिलाले सेनाकै प्राथना देउवालाई २१–१८, २१–८ ले पराजित गर्दै उपाधि जितिन् । विजयी खेलाडीले समान १५ हजार र उपविजयीले समान ८ हजार प्राप्त गरे । यस्तै, तृतीय स्थान प्राप्त गर्ने खेलाडीले ४।४ हजार प्राप्त गरे ।

प्रशिक्षकहरूद्वारा सम्मान
ब्याडमिन्टन प्रशिक्षकहरूले राष्ट्रिय ब्याडमिन्टन संघ, नेपाललाई प्रशंसा पत्रले सम्मान गरेको छ । नेपालमा ब्याडमिन्टन खेलको विकास, विस्तार र उत्थानमा नेपाल ब्याडमिन्टन संघले गरेको योगदानको कदर गर्दै प्रमुख प्रशिक्षक लगायत प्रशिक्षकहरूले संघलाई प्रशंसा पत्रले सम्मान गरेको हो । २०६७ सालमा स्थापित यस संघले ब्याडमिन्टनको इतिहासमै पहिलो पटक रेन्किङ प्रतियोगितालाई निरन्तर आयोजना गर्दै ११औं संस्करणसम्म ल्याइपुर्याएको छ ।

पूर्वखेलाडी श्रेष्ठ सम्मानित
खेलाडीपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अम्पायरमा भूमिकामा रहेका लवभक्त श्रेष्ठ सम्मानित भएका छन् । विराटनगरनिवासी श्रेष्ठलाई नेपालमा ब्याडमिन्टन खेलको विकास र विस्तारमा योगदान पुर्याएका कारण राष्ट्रिय ब्याडमिन्टन संघले सम्मान गरेको हो । श्रेष्ठलाई वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दोसल्ला ओढाई प्रशंसा पत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्