मेलौलीमा एम्बुलेन्स सञ्चालन



बैतडी ।

बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाले नयाँ सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । स्वैच्छिक चन्दा संकलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सपोर्ट सोसाइटी नेपालका सचिव दशरथ सिंह नायकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अभियान थालनी भएको छोटो अवधिमै उलेख्य रकम संकलन गर्न सफल भएका छौं । देश तथा विदेशबाट उठेको रकमबाट तथा नेपाल सरकारको भन्सार छुटमा अक्सिजन, एसी, स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हौं ।’

विस २०७७ चैत्र बाट थालिएको अभियानमार्फत् १३ लाख ८० हजार संकलन भएको र १३ लाख ३० हजारको लागतमा एम्बुलेन्स खरिद गरिएको हो । बिरामी परेको अवस्थामा एम्बुलेन्स नपाइने, महँगो शुल्क तिरेर गाडी रिजर्भ गरेर अस्पतालसम्म जानुपर्ने बाध्यताको अन्त्यका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको सोसाइटीले जनाएको छ ।
मेलौलीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि खुसी लागेको स्थानीय रुवी नायकले बताउनुभयो । उहाँले भन्नुभयो– ‘आपतको घडीमा सवारी नपाउने अवस्था रहेकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि समयमै अस्पतालसम्म जान सजिलो हुन्छ ।’

एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायकले सामाजिक सेवामा सपोर्ट सोसाइटी नेपालले खेलेको भूमिका र सक्रियताको प्रशंसा गर्दै एम्बुलेन्स सेवा सञ्चालन उदाहरणीय काम भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो निकै सराहनीय काम हो,यसले समाजसेवा गर्न प्रेरित समेत गर्छ ।’ एम्बुलेन्स सेवा सञ्चालन अभियानले ग्रामीण भेगका सबै जनताहरूलाई सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्