बाघले फेरि मान्छे खायो



बाँके, (नेस) ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघले फेरि मान्छेलाई आक्रमण गरेको छ । बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका वडा नं. ६, गुलरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो ।

शनिबार बिहान ८ बजेतिर स्थानीय राप्तीपीडित सामुदायिक वनमा घाँस दाउरा लिन गएका चलाउनेलाई बाघले आक्रमण गरेको थियो । सामुदायिक वनले शनिबार उपभोक्ताका लागि घाँस दाउरा खुलाएको थियो ।

घाँस दाउरा गर्न गाउँका अरू मानिस पनि गएका थिए । चलाउनेलाई बाघले आक्रमण गरेपछि अरूको भागाभाग भएको थियो । पछि प्रहरीसहित धेरै मानिस जम्मा भएर होहल्ला गर्दै चलाउनेको खोजतलास गरेका थिए । त्यतिबेलासम्म बाघ त्यही आसपासमा थियो । धेरै होहल्ला भएपछि बाघ शवलाई छोडेर हिँडेको थियो । त्यहीबेलामा स्थानीयले शवलाई ल्याएका छन् ।

डेढ महिनाअघि राप्तीसोनारी गाउँपालिका वडा नं. ६ कै चाँदनी थारू र वडा नं. ४ की लिला विष्टको बाघको आक्रमणबाट मृत्यु भएको थियो । दुई दिनको अन्तरमा लिला र चाँदनीको बाघको आक्रमणबाट मृत्यु भएपछि स्थानीयले बाघलाई नियन्त्रण गर्न चर्को दबाब दिएका थिए । बाघ नियन्त्रण गर्न चितवनबाट प्राविधिक टोली आएको थियो । टोलीले एक हप्तासम्म वडा नं. ६ कै सामुदायिक वनमा दुई वटा पाडा राखेर बाघलाई नियन्त्रण गर्ने प्रयास गरे पनि असफल भएको थियो । प्राविधिक टोली खटिएको बेलामा बाघ आसपासमा देखिएको थिएन ।

शनिबार फेरि चलाउनेलाई आक्रमण भएपछि बाघलाई नियन्त्रण गर्ने प्रयास गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहले बाघलाई नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया, बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन कार्यालय, बाँकेबाट टोली खटिएको जानकारी दिनुभयो । ‘बाघ नियन्त्रणका लागि टोली जंगलमा खटिसकेको छ, वार्डेन शाहले भन्नुभयो, समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन्छौं ।’

बाँकेमा बाघले घरमा पसेर नभई जंगल गएका व्यक्तिलाई आक्रमण गरिरहेको छ । बाँके राष्ट्रिय निकुञ्ज भन्दा पनि आसपासका सामुदायिक वनमा बाघले आक्रमण गरिरहेको छ । बाँकेमा यतिबेला बाघ गणनाको काम भइरहेको छ । सन् २०१८ को गणनाअनुसार बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेका छन् । सामुदायिक वन क्षेत्रमा निस्केर बाघले पटक–पटक मान्छेलाई आक्रमण गरिरहेको छ । यसपालीको गणनामा बाँकेमा बाघको संख्या बढ्ने आकलन गरिएको छ । योसहित बाँकेमा बाघले सात जनालाई आक्रमण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्