नयाँ बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त



काठमाडौं ।

एमसीसी संसद्मा दर्ता भएपछि आइतबार दिउँसो नयाँबानेश्वर क्षेत्र रणभूमिमा परिणत भएको छ । सरकारमा संलग्न रहेका ५ दलमध्ये जनमोर्चा नेपाल बाहेकका नेताहरूले एमसीसी संसद्मा टेबल गर्ने सहमति भएपछि एमसीसी विरोधी समूहले नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशन गरेका थिए ।

‘एमसीसी मुर्दावाद, वाईसीएल नेपाल जिन्दावाद’, ‘नेकपा समाजवादी जिन्दावाद, एमसीसी मुर्दावाद’ भन्दै भएको विरोध प्रदर्शनले बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो । आइतबार बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा सयौंका संख्यामा सुरक्षाकर्मीको तैनाथी गरिएको थियो । सत्तारूढ दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका भातृ संगठनहरूले एमसीसीको विरुद्धमा प्रर्दशन गरेपछि तनावग्रस्त भएको बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच लामो समय भिडन्त भएको थियो । प्रदर्शनकारी संसद्मा एमसीसी टेबल भएको खबर पाएपछि झन् आक्रोशित भएका थिए ।

प्रदर्शनकारीले सुरक्षाकर्मीले राखेको सुरक्षा ब्यारिकेट खोसेर लानुका साथै सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीलाई तितरबितर बनाउन पटकपटक पानीको फोहोरा प्रहार गरेको थियो । प्रहरीले प्रर्दशकारीमाथि अश्रुग्याँस प्रहार गर्दा दर्जनभन्दा बढी प्रर्दशनकारी घाइते भएका छन् । प्रर्दशनकारीले प्रहार गरेको ढुंगा लागेर दर्जनभन्दा बढी प्रहरी घाइते भएको महानगरी प्रहरी कार्यालयका प्रमुख एआईजी हरि पालले जानकारी दिनुभयो ।

प्रदर्शनकारी र प्रहरीबीच झडप बढ्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन ६ राउन्ड रबरको गोली प्रहार गरेको थियो । प्रर्दशनकारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष चढेको गाडीमा ढुंगा प्रहार गरेका थिए । नेताहरूप्रति आक्रोशित बनेका प्रर्दशनकारीले नेताविरुद्ध नाराबाजी गरेका थिए । बानेश्वरमा भएको प्रर्दशनका कारण राजधानीको ट्राफिक व्यवस्थापन आइतबार दिनभर अस्तव्यस्त बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्