साप्सुखोला–पान्धारे सडक स्तरोन्नति तीव्र



खोटाङ ।

खोटाङको साप्सुखोला हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पान्धारे सडक स्तरोन्नतिको काम तीव्र बनाइएको छ । एक नम्बर प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास आयोजनाको ३२ करोड ३६ लाख रुपियाँ लगानीमा २८ किलोमिटर सडकखण्ड स्तरोन्नति थालिएको हो ।

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा निर्माण गरिएको उक्त सडकमा अहिले सबबेसको काम धमाधम भइरहेको छ । दिवा–आजाद जेभी बानेश्वर काठमाडौंले ठेक्का लिएको उक्त सडक स्तरोन्नतिको काम करिब ७० प्रतिशत पूरा भएको ठेकेदार कम्पनीले जनाएको छ । आगामी जेठ मसान्तभित्र सबै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई बुझाउने तयारी गरेको निर्माण कम्पनीका प्रतिनिधि प्रेम मल्लले बताउनुभयो । सडकखण्डमा दोहोरो गाडी सञ्चालन हुने गरी सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने तथा जाली भर्ने काम सम्पन्न भइसकेको उहाँको भनाइ छ ।

२०७६ मंसिर ३० गते सम्झौता भएको स्तरोन्नतिको काम २०७९ मंसिर मसान्तसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ । अन्य योजनाको तुलनामा कामले तीव्रता पाएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काको भनाइ छ । यद्यपि, स्थानीय बासिन्दाबाट गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि तत्काल ठेकेदार कम्पनीलाई पत्राचार गरेर गुणस्तर कायम गर्न र स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

स्तरोन्नति भइरहेको उक्त सडक सञ्चालनमा आएपछि भोजपुरको टेम्केमैयुङ र रामप्रसाद राई गाउँपालिका तथा खोटाङको साकेला र खोटेहाङ गाउँपालिकाका यात्रु सहजरूपमा राजधानी काठमाडौंलगायत तराईका जिल्ला आवत–जावत गर्न पाउने गाउँपालिका प्रमुख खड्काले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्