सिर्जनशील कार्यमा सहकार्य गर्न तयार छौं : प्रजिअ पाण्डे



काभ्रे ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालय हरेक समय सिर्जनशील कार्य गर्न तत्पर रहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा शनिबार बनेपामा आयोजना भएको सरसफाइ कार्यक्रमपछि उहाँले सो बताउनुभएको हो ।

‘समुदाय र समाजको सुधारका लागि प्रशासन कार्यालय समन्वय र सहकार्यका साथ सिर्जनशील कार्य गर्न तत्पर छ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो– ‘जिल्लाका प्रमुख क्षेत्रहरुमा हुने अव्यवस्थित पार्किङ, फुटपाथको व्यवस्थापन, सरसफाइ तथा अन्य क्षेत्रको सिर्जनशील कार्यमा समुदायसँग समन्वय र सहकार्य गर्न तत्पर छौं ।’ समाजको सुधार एक्लै सम्भव नभएको बताउँदै उहाँले संयुक्तरूपमा आयोजना हुने सिर्जनशील कामले सकारात्मक सन्देश दिने बताउनुभयो ।

प्रजातन्त्र दिवसको अवसर पारी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको संयोजनमा जिल्ला स्थित विभिन्न कार्यालय, सुरक्षा निकाय र संघ–संस्थाको समन्वयमा विभिन्न कार्यक्रम आयोजना भएको थियो ।

प्रजातन्त्र दिवसको अवसर पारी बनेपामा रहेको चण्डेश्वरी मन्दिर परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो भने धुलिखेलमा जिल्ला प्रशासन कार्यालय परिसरको सरसफाइ, दिपावली तथा जिल्ला प्रशासन कार्यालयदेखि मालपोत कार्यालयसम्मको दुरीमा सडकको दायाँ–बायाँ किनारमा भएका फोहोर संकलन गरिएको थियो । त्यसको अलावामा जिल्लाका विभिन्न स्थानमा रचनात्मक क्रियाकलाप आयोजना गरिएको थियो ।

त्यस्तै, प्रहरी प्रमुख एसपी चक्रराज जोशीले प्रजातन्त्र दिवसको अवसर पारी आयोजना गरिएको सरसफाइ कार्यक्रम सन्देशमूलक भएको बताउनुभयो । शहीदहरुको सम्मानसहित प्रजातन्त्र प्राप्तिका लागि भएको बलिदानीलाई सम्झँदै रचनात्मक क्रियाकलापमा सहभागी भएको उहाँको कथन छ । वडाध्यक्ष बलराम अधिकारीले स्थानीय सरकार नागरिकको सेवाका लागि प्रयत्नरत रहेको बताउँदै सबै क्षेत्रको समन्वय र सहकार्यले मात्रै समाजको विकास सम्भव हुने बताउनुभयो । सरसफाइ कार्यक्रममा नेपाली सेनाको कालिजंग गण, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी, बनेपा नगरपालिका–५ र स्थानीयहरुको सहभागिता रहेको थियो ।

शुक्रबार आयोजना गरिएको सरसफाई कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्