‘भ्रष्टाचारमा कांग्रेस–कम्युनिस्ट एक सिक्काका दुई पाटा’



पोखरा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्ट पार्टी प्रतिद्वन्द्वी भए पनि भ्रष्टाचारको मामिलामा एक रहेको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले अघिपछि शत्रुजस्तो हुने गरे पनि भ्रष्टाचार गर्ने स्थानमा भने कांग्रेस, एमाले र माओवादी मिल्ने गरेको आरोप लगाउनुभयो हो ।

भावी पुस्ताले दुःख नपाउनका लागि कांग्रेस–कम्युनिसटको विकल्प खोज्नुपर्ने बेला आएको अध्यक्ष लिङ्देन बताउनुहुन्छ । ‘यथास्थितिको अन्त्य चाहनेहरु अब राप्रपामा आउनुहोस् । कांग्रेसको विकल्प एमाले होइन, एमालेको विकल्प कांग्रेस होइन’, उहाँले भन्नुभयो– ‘अब कांग्रेस, एमाले र माओवादीको विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी हो ।’

देशलाई नयाँ बाटोमा हिँडाउन र कुशासनबाट मुक्त गराउन राप्रपालाई साथ दिन लिङ्देनको आग्रह छ । देशको मुख्य शत्रु भ्रष्टाचार रहेको सुनाउँदै उहाँले अहिलेका पार्टीहरुलाई भ्रष्टाचार गर्नु सामान्य कुरा भइसकेको बताउनुभयो ।

‘आज भ्रष्टाचारका ठूल्ठूला काण्ड केलाएर हेर्ने हो भने ती सबै ठाउँमा कांग्रेस एमाले र माओवादी एकैठाउँमा उभिएर बसेका छन्’, अध्यक्ष लिङ्देनले थप्नुभयो– ‘उनीहरु एक–अर्काको प्रतिपक्षी पार्टीजस्तो गर्ने तर देश लुट्ने, भ्रष्टाचार गर्ने काममा एकै ठाउँमा छन् । चाहे तपाईंले वाइडबडी काण्डमा भन्नुहोस्, चाहे एनसेल काण्डमा, या बालुवाटार जग्गा प्रकरणमा भन्नुहोस् उनीहरु एकैठाउँमा छन् । कांग्रेस, एमाले, माओवादी अलग पार्टी होइनन् । एक सिक्काका दुई पाटा हुन् ।’

त्यसै गरी, महामन्त्री भुवन पाठकले राप्रपाको नेतृत्वमा मात्रै जनजाति आएको र यसले पुस्तान्तरणको परिभाषा दिएको बताउनुभयो । उहाँले अन्य पार्टीमा आर्यघाट पुगेपछि मात्रै पद छाड्ने गरेको बताउनुभयो । अब सडकबाट संविधान खारेज गर्ने चेतावनी पाठकले दिनुभयो ।

यस्तै, प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरुद्धको आफ्नो अभियानलाई तीव्रता दिने बताउँदै राप्रपा प्रवेशले झन् शक्ति मिलेको बताउनुभयो । ‘कतिपयले भन्नुभयो होला ज्ञानेन्द्र पनि अब पार्टीमा गयो, मज्जाले भ्रष्टाचार गर्न पाइन्छ भनेर । तर त्यसो हुने छैन’, उहाँ भन्नुहुन्छ– ‘मेरै पार्टीका सदस्यले समेत भ्रष्टाचार गर्छ भने छाड्नेवाला छैन । बाहिरको त के कुरा ? मलाई पार्टीमा प्रवेश गरेपछि झन् अभियानमा लाग्ने शक्ति मिलेको छ ।’

राष्ट्रभक्ति युवाहरु अब देश बेच्ने पार्टीमा नभई देशलाई बचाउने पार्टीमा प्रवेश गर्नेको लहर चलेको शाहीले बताउनुभयो । उहाँले विदेशीलाई देश बेचेर कांग्रेस–कम्युनिस्टले धर्मसमेत मासेको आरोप लगाउनुभयो । धर्म देशको अर्थतन्त्रसमेत रहेको बताउँदै शाहीले अब राप्रपाले जातीय विभेद नगर्ने कसम खाँदै नयाँ शुरुआत गर्ने बताउनुभयो । त्यस्तै, पार्टी प्रवेश गरेका विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष शंकर खरालले देशलाई अखण्ड राख्दै हिन्दूराष्ट्र स्थापित गर्नका लागि राप्रपामा गएको सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्