गाईपालनले बढाएको आत्मविश्वास



स्याङ्जा ।

एक वर्ष पहिलेसम्म गोठको काम गर्नुपर्दा दिक्क र झन्झट मान्ने गल्याङकी टीकाकुमारी रानाको आजभोलि सोच मात्रै होइन जीवनशैली नै फेरिएको छ । उहाँ बिहान ४ बजेअघि नै गोठमा रहेका बस्तुभाउको साथी बन्न पुग्नुहुन्छ । छिमेकीले बाहिरको बत्ती बाल्दा उहाँले दूध दुहुने कामसमेत पूरा गरिसक्नुहुन्छ ।

३० वर्षको उमेरमा नै पालिकाको नमुना पशुपालक कृषक बन्नुभएकी टीकाकुमारीका श्रीमान् साउदीमा हुनुहुन्छ । एक छोरा र एक छोरी सम्हाल्दै उहाँले गोठको काम गर्ने समय निकाल्नुहुन्छ । गोठको काम गर्न उत्साहित हुनुको मुख्य कारण गल्याङ नगरपालिकाले दूधमा दिएको अनुदान पनि हो । पालिकाले प्रतिलिटर १५ रुपियाँ अनुदान दिने गरेको छ । सानो रकम भए पनि उहाँले ६ महिनाको अवधिमा मात्रै २ लाख ४० हजार ८ सय ५९ रुपैयाँ अनुदान हात पार्नुभयो । ६ वटा गाई र दुईवटा भैंसी पालेर दैनिक १ सय ४० देखि १ सय ५० लिटर दूध उहाँले घर निजिकैको सहकारीमा पुर्याउनुहुन्छ । छोरी हर्षिकाको नाममा हर्षिका गाई फर्म नै दर्ता गरिसक्नुभएको छ टीकाले । उहाँको फार्ममा गल्याङ बजारबाट ३० मिनेटमा पुग्न सकिन्छ । गाई पकेट लागत साझेदारी कार्यक्रमअन्तर्गत दुईवटा गाई खरिद गरेबापत ४२ हजार रुपियाँ अनुदान पाएपछि रानाको बुझाई छ काम गर्छु भन्यो भने सबैतिरबाट सहयोग पाइने रहेछ ।

‘श्रीमान्ले विदेशबाट पठाएको पैसा घर खर्चमा नै सकिन थाल्यो त्यसपछि गाउँमै केही गर्ने सोच बनाएकी हुँ’, टीका भन्नुहुन्छ– ‘एक वर्षअघि दुईवटा गाईबाट शुरु भएको व्यवसायमा अहिलेसम्म २० लाख रुपियाँ लगानी भइसकेको छ ।’ आफ्नै जग्गा भएका कारण उहाँलाई गाईपालन गर्न जमिनमा खर्च गर्नु परेन । अहिले अरू खर्च जस्तै गाईभैंसीका लागि आहारलगायतको खर्च कटाएर मासिक ७० देखि ८० हजार रुपियाँसम्म वचत गर्ने गरेको उहाँको भनाइ छ ।

आफूले घर खर्च चलाउन सके विदेशमा श्रीमान्ले कमाएको वचत गर्न सकिन्थ्यो कि भनेर गाईभैंसी पाल्ने सोच्नुभएको थियो टीकाकुमारीले । आफूबाहेक एक जनालाई रोजगारसमेत दिनुभएकी टीकाकुमारीले भन्नुभयो– ‘म यो व्यवसाय र कामप्रति निकै उत्साहित छु, अब विदेशमा रहेका श्रीमान्लाई घरमा नै बोलाउने सोच छ ।’

टीकाकुमारी मात्रै होइन गल्याङ नगरपालिकाका धेरै पशुपालक कृषक अहिले निकै उत्साहित छन् । सेतो शहर गराउने नगरपालिकाले लिएको अभियानलाई यहाँका नागरिकले खुलेर साथ दिएका छन् । पछिल्लो समय दूधको उत्पादन बढेको छ भने नगरपालिकाले नै उत्पादन भएको दूध बेच्नका लागि पोखरा र बुटवलमा व्यवस्था गरिदिएको छ । नगरप्रमुख भूपराज अधिकारीले दूधमा दिइएको अनुदानले पशुपालक कृषक उत्साहित भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनुदान कार्यक्रमबाट १ हजार १ सय ७९ जना किसान लाभान्वित भएका छन् ।’

गल्याङ नगरपालिकाले नगरभित्रका दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरूप झण्डै ७९ लाख रुपियाँ अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, संकलन केन्द्रमार्फत दूध बिक्री गरेबापत कृषकलाई नगरपालिकाले प्रतिलिटर १५ का दरले ७८ लाख ९९ हजार ९ सय २० रुपियाँ अनुदान उपलब्ध गराएको पशु विकास शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो । नगरपालिकाका अनुसार नगरका विभिन्न वडामा ८ सय २१ पुरुष र ३ सय ५८ महिला गरी कूल १ हजार १ सय ७९ जना कृषकलाई अनुदान वितरण गरिएको हो ।

नगरपालिकाले समूह, सहकारी तथा संकलन केन्द्रहरुमा आबद्ध भएका कृषकहरुसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएको छ । कृषकहरुले संस्थामार्फत दूध बिक्री गर्ने र बिक्री भएको दूधका आधारमा प्रतिलिटर १५ रुपियाँका दरले कृषकलाई संकलन केन्द्रमार्फत नै एकमुस्ट अनुदान उपलब्ध गराउने गरेको नगरप्रमुख अधिकारीले बताउनुभयो । दूध उत्पादक कृषकलाई नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ बाट उत्पादनमा प्रतिलिटिर १५ रुपियाँ अनुदान दिन शुरु गरेको हो । दुग्ध विकास संस्थानले निर्धारण गरे बमोजिमको मूल्यमा संकलन केन्द्रमा दूध उपलब्ध गराउने कृषकलाई मात्रै नगरपालिकाले अनुदान दिने गरेको जनाएको छ । यहाँ उत्पादन भएको दूध संकलन केन्द्रमार्फत बुटवलस्थित दुग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा र केही गल्याङ तथा स्थानीय बजारमा खपत हुने गरेको शाखा प्रमुख अर्यालले बताउनुभयो ।

नगरपालिकाले सेतो शहर बनाउने योजना अनुसार दीर्घकालीन नीति नै बनाएको छ । नगरसभाबाट सेतो शहरको अवधारणा तय गर्दै पालिकाले दूध तथा दूधजन्य उत्पादन तयार गर्ने लक्ष्य राखेको छ । अहिले दैनिक १ हजार ५ सय लिटर हिउँदमा र अरू समयमा ३२ देखि ३५ सय लिटर दूध उत्पादन हुने पशु शाखाका प्रमुख अर्यालले बताउनुभयो । पशुपालक कृषकका लागि विभिन्न आकर्षक नीति समेत तय गरेको छ । दूधलाई विविधीकरण गर्दै पनिर, बटरलगायतका सामग्री बनाउने नगरको योजना रहेको छ ।

त्यस्तै, नगरपालिकाले अनुदान, पशुधन बीमा तथा लागत साझेदारीका कार्यक्रम अगाडि बढाएको छ । पालिकाले गत आर्थिक वर्षमा पशु सुरक्षण बीमाका लागि २० लाख रुपियाँ अनुदान दिएको थियो जसमा १ हजार २ सय ५ जना कृषक लाभान्वित भएका थिए । कृषकलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्नका लागि नगरस्थित बैंक तथा सहकारी संस्थाहरुसँग समन्वय गरी कृषि कर्जामा चार प्रतिशत ब्याजदरमा अनुदान उपलब्ध गराएको थियो ।

ब्याज अनुदानमा नगरपालिकाले गत आवमा १५ लाख विनियोजन गरेको थियो । उक्त ऋणमा प्रत्यक्ष २ सय ८१ जना लाभान्वित भएका थिए । गल्याङ नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउँदै कृषकको आर्थिकस्तर उकास्नका लागि पशुपालनमा जोड दिएको नगरप्रमुख भूपराज अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्