वागमतीमा प्रतिपक्षबिना प्रजातन्त्र दिवस



हेटौंडा ।

वागमती प्रदेशमा सरकारले मनाएको प्रजातन्त्र दिवसमा प्रमुख प्रतिपक्षी नेकपा एमाले अनुपस्थित भएको छ । प्रदेश सरकारले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गरेअनुसार शनिबार भएको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेका नेता, कार्यकर्ता तथा सांसद् सहभागी भएनन् । न त आयोजकले नै प्रतिपक्ष दललाई सम्बोधन गर्यो ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनाल, स्वास्थ्यमन्त्री निमा लामा, आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेल, वन तथा वातावरणमन्त्री विशाल खड्कालगायत विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।कार्यक्रममा मुख्यमन्त्री पाण्डेले एमसीसीका कारण नेपालको राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको टिप्पणी गर्नुभयो । उहाँले अमेरिकी सहयोग नियोग (एमसीसी) अनुदानका कारण देशको राजनीति जटिल मोडमा पुगेको टिप्पणी गर्नुभएको थियो ।

‘अनुदानले विवाद र अप्ठेरोमा नेपाली राजनीतिलाई पुर्याएको छ । हामी राजनीति दलहरुले यसअघि पनि धेरै समस्याको समाधान मिलेर गरेका छौं । यो पनि गर्छौं’, मुख्यमन्त्री पाण्डेले भन्नुभयो–‘वागमतीमा तीन दलको गठबन्धन सरकार छ । हामीले न्यूनतम साझा कार्यक्रम तय गरिसकेका छौं । सोहीअनुसार हामीले काम गरिरहेका छौं । केही समयमा तपाईंहरुले महसुस हुने गरी हामी काम गर्नेछौं ।’

मुलुकमा प्रजातन्त्र स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भएको उहाँले बताउनुभयो । प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा पाण्डेले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट आएको व्यवस्थालाई थप सुदृढ तुल्याउन सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको थियो ।

वागमती प्रदेशलाई सफा, उज्यालो र डिजिटलाइज्ड गर्ने काममा आफूहरु लागिपरेको भन्दै पाण्डेले सरकार नयाँ ढंगबाट अघि बढिरहेको पनि बताउनुभयो । राष्ट्रियता संरक्षण, देशको भू–भाग संरक्षण, जनताको संरक्षणमा सबै अघि बढ्नुपर्ने उहाँको कथन थियो ।

प्रतिक्रिया दिनुहोस्