एमालेले सक्यो निर्वाचन केन्द्रित प्रशिक्षण



हेटौंडा, (नेस) ।

नेकपा एमाले केन्द्रीय स्कुल विभागको आयोजना र वागमती प्रदेश कमिटीको व्यवस्थापनमा काठमाडौंमा शनिबार प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।

नेकपा एमाले वागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौलाका अनुसार प्रदेश कमिटी इन्चार्ज तथा सहइन्चार्जहरू, प्रदेश कमिटी पदाधिकारीहरू, नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरू, नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरू, जिल्ला कमिटी इन्चार्ज र सहइन्चार्जहरू, जिल्ला कमिटी पदाधिकारीहरू, नेकपा एमालेबाट निर्वाचित जिसस प्रमुख र उपप्रमुखहरू, नेकपा एमालेबाट विजयी पालिका प्रमुख र उपप्रमुखहरू र पालिका पार्टी कमिटीका अध्यक्षहरूको सहभागितामा अभिमुखीकरण भएको थियो ।

कार्यक्रममा दशौं राष्ट्रिय महाधिवेशन/विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संगठनात्मक र शैलीगत् विषयहरू, स्थानीय तहमा ५ वर्षका उपलब्धि र अनुभवहरू तथा स्थानीय तह निर्वाचनको तयारीबारे राजनीतिक, कानुनी र व्यवहारिक पक्षहरूबारे छलफल भएको थिए । आगामी निर्वाचनमा जिल्लामा नेकपा एमालेलाई कसरी विजयी बनाउन सकिन्छ, विभिन्न पालिकामा एमालेको अवस्था कस्तो छ भन्नेबारे रिपोर्टिङसमेत लिइएको थियो।

करिब ४ सय जनाको सहभागिता रहेको कार्यक्रममा जिल्ला तहमा समूह छलफलपछि प्रत्येक समूहका जिल्ला अध्यक्षले प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमका प्रशिक्षकहरूमा शंकर पोखरेल (महासचिव), प्रदीप ज्ञवाली (उपमहासचिव), विष्णु रिमाल (उपमहासचिव), देवेन्द्र दाहाल (स्थानीय तह विभाग प्रमुख) र काशीनाथ अधिकारी (स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज) हुनुहुन्थ्यो । कार्यक्रमकी प्रमुख अतिथि अष्टलक्ष्मी शाक्य (उपाध्यक्ष) रहँदा सभाध्यक्षता केशव पाण्डे (पार्टी प्रदेश अध्यक्ष) ले गर्नुभएको थियो । कार्यक्रममा खर्च व्यवस्थापनका लागि प्रतिनिधिले एक हजारका दरले योगदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्