राप्रपा नेपालले जनताकेन्द्रित राजनीति गर्छ : थापा



काठमाडौं, (नेस) ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालले अब लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्दै जनताकेन्द्रित राजनीति गर्ने बताउनुभएको छ । शनिबार पार्टी घोषणासभामा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपालको पृष्ठभूमि पुरानो भए पनि विगतमा राप्रपा नेपालले गम्भीर भूल गरेको बताउनुभयो । उहाँले अबको गन्तव्य संवर्धनवाद, सुशासन र समृद्धि हुने भन्दै पार्टीलाई अब नयाँ ढंगले अघि बढाउने बताउनुभयो ।

थापाले संवर्धनलाई हिन्दुराष्ट्रको रूपमा व्याख्या गर्नुभएको थियो । प्रजातन्त्र दिवसको अवसर पारेर पार्टी घोषणा गरेका थापाले राजसंस्थाको बारेमा भन्नुभयो– ‘राप्रपा नेपालले राजसंस्थालाई सम्मान गर्ने नीति अवलम्बन गर्नेछ ।’ उहाँले पार्टी घोषणासभामा नेपालको राजनीतिक परिवर्तनमा बाह्य शक्तिको प्रभाव र दबाब रहने गरेको टिप्पणी पनि गर्नुभएको थियो ।

पाँच वर्षको अलमलमा राप्रपा नेपालले नाम र लोकप्रिय चुनाव चिह्न गाई गुमाएको जिकिर गर्दै उहाँले आफूले ठीक ढंगले पार्टी चलाउन नसक्दा राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुन पुगेको बताउनुभयो । विभाजित दलहरू एकीकरणपछि हालै भएको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राजा ज्ञानेन्द्रको हस्तक्षेपका कारण आफ्नो हार भएको भन्दै थापा पार्टीबाट अलग हुनुभएको थियो । राजसंस्था र हिन्दुराष्ट्र मूल एजेन्डा बोकेको राप्रपा नेपाल दोस्रो संविधान सभामा मुलुकको चौथो ठूलो शक्तिको रूपमा उदाएको थियो ।

प्रतिक्रिया दिनुहोस्