विद्यार्थी अपहरण गर्ने फुपाजु पक्राउ



बुटवल ।

एकै घरका दुई बालबालिकालाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा रूपन्देही प्रहरीले सैनामैना नगरपालिका–५ का ३५ वर्षीय खेमबहादुर पौडेललाई झापाको विर्तामोडबाट पक्राउ गरेको छ । पौडेललाई झापा अनारमनी विर्तामोडबाट पक्राउ गरी बालबालिकालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले शनिबार पत्रकार सम्मेलन गरी पौडेललाई सार्वजनिक गरेको हो ।

रूपन्देहीको सैनामैना–६ दुधराक्षस्थित घरबाट सैनामैना–४ बुद्धनगरको प्रभात बोर्डिङ स्कुल गएका १२ वर्षीय प्रसिद्ध दाहाल र उनकी बहिनी ९ वर्षीया प्रशन्न दाहाल फागुन ५ गतेदेखि हराइरहेका थिए । रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार लु१ख ६५६८ नम्बरको बसमा चढेर गएका उनीहरू साँझ घर नपुगेपछि अभिभावक स्कुलमा पुगेका थिए ।
तर, बसका स्टाफले दुवै बालबालिकालाई फोटो खिच्न भनी अभिभावकले बसबाट उतारेर लगेको बताएका थिए । ‘अन्य विद्यार्थीले पौडेलले लिएर गएको बताएपछि प्रहरी उनको पछि लागेको थियो’ –केसीले भन्नुभयो ।

इलाका प्रहरी कार्यालय रन्यौरामा घटनाबारे अभिभावकले जानकारी दिएपछि प्रहरी अनुसन्धानमा परिचालन भएको हो । टिकट काटेर उनी बिर्तामोड पुगेका थिए । त्यही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीले बुटवलबाट आउने गाडीको निगरानी गरेको थियो । बुझ्ने क्रममा पौडेललाई बालबालिकासहित बसपार्कमा फेला पारिएको थियो । पौडेललाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान शुरू गरिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

केही दिनअघि पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई सार्वजनिक अपराधमा मुद्दा चलाइएको थियो । छुटेपछि माइती पक्षसँग मिलेर आफूलाई थुनाएको भन्दै पौडेलले बदला लिने योजनाका साथ बालबालिकाको अपहरण गरेको रहस्य खुलेको प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्