सृजनशील कार्यमा सहकार्य गर्न तयार छौँ : प्रजिअ पाण्डे

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

७२ औं प्रजातन्त्र दिवसको अवसर पारी जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकको संयोजनमा जिल्ला स्थित विभिन्न कार्यालय, सुरक्षा निकाय र संघ संस्थाहरूको समन्वयमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

प्रजातन्त्र दिवसको अवसर पारी बनेपामा रहेको चण्डेश्वरी मन्दिर परिसरमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो भने धुलिखेलमा जिल्ला प्रशासन कार्यालय परिसरको सरसफाइ, दीपावली तथा जिल्ला प्रशासन कार्यालय देखि मालपोत कार्यालयसम्मको दुरीमा सडकको दायाँबायाँ किनारमा भएका फोहोरहरू संकलन गरिएको थियो ।

त्यसको अलावामा जिल्लाका विभिन्न स्थानमा रचनात्मक क्रियाकलापहरू आयोजना गरिएको थियो । बनेपामा आयोजना भएको सरसफाइ कार्यक्रम पछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालय हरेक समय सृजनशील कार्य गर्न तत्पर रहेको बताउनु भयो ।

‘समुदाय र समाजको सुधारका लागि प्रशासन कार्यालय समन्वय र सहकार्यका साथ सृजनशील कार्य गर्न तत्पर छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘जिल्लाका प्रमुख क्षेत्रहरूमा हुने अव्यवस्थित पार्किङ, फुटपाथको व्यवस्थापन, सरसफाइ तथा अन्य क्षेत्रको सृजनशील कार्यमा समुदायसँग समन्वय र सहकार्य गर्न तत्पर छौँ ।’ समाजको सुधार एक्लै सम्भव नभएको बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले संयुक्त रूपमा आयोजना हुने सृजनशील कामले सकारात्मक सन्देश दिने बताउनु भयो ।

प्रहरी प्रमुख एसपी चक्रराज जोशीले प्रजातन्त्र दिवसको अवसर पारी आयोजना गरिएको सरसफाइ कार्यक्रम सन्देशमूलक भएको बताउनु भयो । सहिदहरूको सम्मान सहित प्रजातन्त्र प्राप्तिका लागि भएको बलिदानलाई सम्झँदै रचनात्मक क्रियाकलापमा सहभागी भएको एसपी जोशीले बताउनु भयो ।

वडा अध्यक्ष बलराम अधिकारीले स्थानीय सरकार नागरिकहरूको सेवाका लागि प्रयत्नरत रहेका बताउँदै सबै क्षेत्रको समन्वय र सहकार्यले मात्रै समाजको विकास सम्भव हुने बताउनु भयो ।

सरसफाइ कार्यक्रममा नेपाली सेनाको कालिजंग गण, जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी, बनेपा नगरपालिका वडा नम्बर ५ र स्थानीयहरूको सहभागिता रहेको थियो । शुक्रवार आयोजना गरिएको सरसफाइ कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।