युनियनको केन्द्रीय सचिवमा भट्टराईकाे उम्मेदवारी घोषणा


कृष्ण परियार,अर्घाखाँची ।  

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष प्रकाश भट्टराईले केन्द्रीय सचिवमा उम्मेदवारी दिने बताएका छन् ।  राजनीति शास्त्रमा विद्यावारिधि गर्दै गरेका कर्मचारी युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष तथा आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका पूर्व अध्यक्ष समेत रहिसकेका भट्टराईले युनियनको सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।

भट्टराईले आफू विगत १६ वर्षदेखि पेसागत हित र  ट्रेड अधिकार  प्राप्तिको अभियानमा सक्रिय रूपमा सहभागी भएको बताउँदै गाविस सचिव हकहित संरक्षण केन्द्र, कर्मचारी युनियन आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको सफलतापूर्वक नेतृत्व गरिसकेको बताए । उनले भने अब हुने महाधिवेशनमा केन्द्रीय सचिव पदको स्वाभाविक उम्मेदवार हुँ , मैले नेतृत्व गरेका सबै संस्थामा फरक हिसाबले काम गर्दै संस्थागत विकास र संस्थाको उद्देश्य प्राप्तिमा सफलता दिलाएको अनुभव  रहेकोले केन्द्रीय पदाधिकारी, जिल्ला विभागीय अध्यक्ष तथा महाधिवेशन प्रतिनिधिहरूले  निर्वाचनमा मलाई विजयी बनाउने विश्वास लिएको छु ।

शालीन, सहयोगी र इमानदार कर्मचारीको पहिचान बनाउन सफल प्रकाश भट्टराईले कर्मचारी युनियन अर्घाखाँचीको नेतृत्व गर्दा पेसागत हक, हित र ट्रेड युनियन अभियानसँगै जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, पत्रकारिता पुरस्कार स्थापना, विपतमा परेका नागरिकलाई सहयोग वितरणका कार्यक्रम, सचेतनामूलक कोडिङ बोर्ड, नागरिक सहायता कक्ष स्थापना लगायतका थुप्रै सामाजिक सेवाका कार्यहरू गर्दै  जिल्लामा नेपाल निजामती कर्मचारी युनियनको पहिचान र प्रभाव विस्तार गरी आधिकारिक ट्रेड युनियनको निर्वाचनमा युनियनलाई झन्डै दोब्बर मतले विजयी बनाउन अहम् भूमिका निर्वाह गरेका थिए । भट्टराई राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानको नेतृत्व गर्दै माग स्थापित गराउन क्रियाशील रहँदै आएका छन्।

निजामती सेवामा प्रवेश गरेसँगै जिल्ला स्तरीय युनियनका क्रियाकलापमा सक्रिय हुँदै जिल्लालाई सफल नेतृत्व प्रदान गरेको अनुभव भएकोले नेपाल निजामती कर्मचारी युनियनलाई देशभरमा कसरी प्रथम  बनाउन सकिन्छ भन्ने खाका र योजना आफूसँग भएको र पेसागत हित सँगसँगै नेपालको सार्वजनिक सेवाको सुदृढीकरणका माध्यमबाट ट्रेड युनियनको भूमिका अभिवृद्धि गराउन युनियनको आसन्न महाधिवेशनबाट उपयुक्त भूमिका निर्वाह गर्न सक्ने गरी केन्द्रीय सचिव पदको जिम्मेवारी लिन खोजेको उनले बताएका छन् ।

कोभिडको संक्रमणका कारण पटक पटक स्थगित हुँदै आएको युनियनको महाधिवेशन यही फागुन २१ देखि २३ गतेसम्म सम्पन्न हुँदै छ ।  अहिले महाधिवेशनको मिति नजिकिँदै गर्दा कर्मचारी वृत्तमा सरगर्मी बढेको छ । जिल्ला र विभागीय कार्यसमितिका अध्यक्ष र महाधिवेशन प्रतिनिधि सहभागी हुने अधिवेशनले आगामी तीन वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।