बालबालिकाको मुटुमा समस्या



दोलखा ।

नेपाल हर्ट फाउन्डेसनको सहयोगमा धुलिखेल अस्पतालले भिडियो एक्स–रे गर्दा बालबालिकामा मुटु रोग देखिएको छ । दोलखाका विभिन्न ठाउँका बालबालिकाको मुटुको परीक्षण गरिएको थियो । कोरोना संक्रमणपछि बालबालिकामा मुटुको समस्या बढी देखिएकाले धुलिखेल अस्पतालले नेपाल हर्ट फाउन्डेसनको सहयोगमा समुदायमै केन्द्रित रहेर निःशुल्करूपमा मुटुको स्क्रिनिङ गर्न थालेको हो ।

परीक्षणका क्रममा जिल्लाका बालबालिकाहरूमा मुटुको समस्या धेरै देखिएको बाल मुटुरोग विशेषज्ञ डा. अनिश जोशिले बताउनुभयो । जिल्लाको तामाकोसी गाउँपालिका–५ किर्नेटारको एउटा सामुदायिक विद्यालयका ५ वर्षमाथिका १ सय ६ बालबालिकाको मुटुको परीक्षण गर्दा ६ बालबालिकामा बाथ र मुटुमा प्वाल पर्ने समस्या देखिएको उहाँलको भनाइ छ ।

जिल्लाको विभिन्न स्थानका ३ सय बालबालिकाको मुटुको परीक्षण गर्दा १२ जनामा समस्या देखिएको डा. जोशीको भनाइ छ । मुटुको समस्या देखिएका बालबालिका दुर्गम क्षेत्रका बढी रहेको अस्पतालका स्वास्थ्यकर्मी बताउँछन् । मुटुमा समया देखिएका १२ जनामध्ये चारको जन्मजात नै मुटुमा प्वाल देखिएको र बाँकी आठ जनामा बाथको समस्या हुन सक्ने डा. जोशी बताउनुहुन्छ ।

ग्रामीण क्षेत्रका बालबालिकामा कोरोना भएको हुन सक्ने र समयमै त्यसको उपचार हुन नसक्दा मुटुमा समस्या देखिएको धुलिखेल अस्पतालका स्वास्थ्यकर्मीहरुको भनाइ छ । बालबालिकाहरुमा मुटुमा समस्या भयो भने निमोनिया हुने, तौल कम हुने समस्या देखिन्छ । बालबालिकाहरुको घाँटीमा समस्या देखिएर चाँडै उपचार गरिएन भने पनि मुटुमा समस्या हुने डा. जोशीको भनाइ छ ।

दोलखाको समुदायस्तरमा टोल तथा विद्यालयमै पुगेर बालबालिकाको मुटुको परीक्षण गरिएको र आवश्यकताअनुसार निःशुल्क अप्रेसनको समेत व्यवस्था गर्नुपर्ने मुटु परीक्षण अभियानमा संलग्न स्वास्थ्यकर्मीहरु बताउँछन् । धुलिखेल अस्पतालले सञ्चालन गरेको दोलखा अस्पतालले पनि बालबालिकाको मुटु जोगाउ भन्दै समुदायमै पुगेर ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाको मुटुसम्बन्धी समस्या पहिचान गर्ने र उपचारको प्रबन्ध मिलाउने अभियान शुरु गरेको डा. राजकुमार दंगालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्